Successfully Copied

तीजमा व्यस्त सुनिता

मेरा प्रायः तीज गीत सबै महिलामा समर्पित छन् । सोचमा परिवर्तन ल्याउने खालका सन्देश बोकेका छन् । परिवर्तनका पक्षमा छन् । माया–प्रेम र सम्बन्धभन्दा पनि विकास र परिवर्तनका लागि मेरा गीतले भूमिका खेलेका छन् ।


सुमधुर स्वरकी धनी गायिका सुनिता दुलाललाई धेरैले ‘तीज क्विन’ का रूपमा सम्बोधन गर्छन् । विशेषतः उनका गीत र एल्बम तीजकै सन्दर्भ पारेर रिलिज हुन्छन् । यसपटकको तीजका लागि नयाँ फ्लेवरमा ‘आयो है आयो यसपालि पनि तीजको रमाइलो’ बोलको गीत लिएर दर्शक–श्रोतामाझ आएकी उनले आफ्नो म्युजिक भिडियोमा नीर शाह, लक्ष्मी गिरी, दीपाश्री निरौला, लक्ष्मी जोशीलगायतलाई अभिनय गराएकी छिन् । गीत तथा म्युजिक भिडियोका लागि नयाँ अवधारणा आफैं सिर्जना गर्ने सुनीता पछिल्लो समय डालो रेस्टुरेन्ट र राइज मिडिया कम्पनीमार्फत व्यवसायमा समेत हात हालेकी छिन् । त्यसबाहेक उनी आफ्नो जन्मस्थान सिन्धुपाल्चोक जलबिरेमा बाटो, मठमन्दिर, सामुदायिक भवन, कालोपत्रे सडक बनाएर समाजसेवामा पनि सक्रिय छिन् । ‘मान्छे यो धर्तीमा जन्मिएकै केही गर्नका लागि हो, त्यसैले कमँइको केही प्रतिशत सुरुदेखि नै समाजसेवामा खर्च गर्दै आएकी छु ।’ सुनिता भन्छिन्–‘मेरो जीवनकै पहिलो स्टेज कार्यक्रम नै नेत्रहीन संघको आयोजनामा सिन्धुपाल्चोकको चौतारामा थियो । यति पैसा लिने भन्ने कुरा पहिला नै निश्चित भइसकेको थियो । त्यतिबेला मैले डम्बर नेपालीस“ग स्टेज सेयर गरेकी थिए“ । प्रस्तुति सिध्याइसकेपछि पाएको सबै पारिश्रमिक मैले तिनै नेत्रहीनलाई चन्दा दिएँ । यसरी मेरो सांगीतिक यात्रा नै समाजसेवाबाट सुरु भयो ।’
सुरबहादुर र दिवीमाया दुलालका ६ सन्तानमध्ये सुनिता कान्छी हुन् । बाल्यकालदेखि नै गीत गाउने उनले एसएलसीपछि पद्मकन्या कलेजमा संगीत विषय लिएर पढ्न थालिन् । पछि प्रकाश गुरुङ र गीता रानासँग संगीतको विशेष प्रशिक्षण लिइन् । पद्मकन्या कलेजबाट संगीतमा स्नातक सुनीताको व्यावसायिक सांगीतिक यात्रा ०५९ देखि सुरु भएको हो । हालसम्म ५० भन्दा बढी एकल एल्बम बजारमा ल्याइसकेकी उनले १ सय ५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छिन् ।


हाल केमा व्यस्त हुनुहुन्छ ?
भर्खरै यसपालिको तीज गीतको म्युजिक भिडियोको सुटिङ सकियो । अन्य काम पनि निरन्तर रूपमा भइरहेका छन् ।


यसपटकको तीजमा के स्पेशल लिएर आउँदै हुनुहुन्छ ?
तीजका लागि पृथक् र नयाँ गीत तयार भएको छ । दीपक शर्माको शब्द–संगीत, श्याम श्वेत रसाइलीको एरेन्जमेन्ट र मेरो स्वरमा ‘आयो है आयो यसपालि पनि तीजको रमाइलो’ बोलको गीतको भिडियोे बनेको छ । वरिष्ठ कलाकारहरू नीर शाह, लक्ष्मी गिरी, दीपाश्री निरौला, लक्ष्मी जोशीलगायत मैले अभिनय गरेको यो म्युजिक भिडियो विविध क्षेत्रका नौ जना नारीबाट विमोचन गरिसकिएको छ ।


अबको तीज कस्तो हुनुपर्छ भन्ने लाग्छ ?
विगतको तुलनामा पछिल्ला तीज परिवर्तित र परिमार्जित हुँदै गएका छन् । सासू–बुहारीको कुटाकुट, नन्द–भाउजू, आमाजू–बुहारीको झगडालगायतका कुरा तीज गीतमा हराइसकेका छन् । प्रगतिशील गीत आइरहेका छन् । सँगै अन्तर्राष्ट्रिय रूपमा पनि हाम्रो कला निकै फैलिएको छ जसले सकारात्मक सन्देश प्रवाह गरिरहेको छ ।


मन परेको आफ्नै गीत ?
‘फूलबुट्टे सारी सुनबुट्टे पारी, शिरैमा चन्द्रमा टलल.. यो गीत धेरैले मन पराउनुभएको थियो । अर्को ‘आमाले पकाको मीठो दर खानलाई, फुरफुर परी बसिराछु माइत जानलाई’ मेरो पहिलो गीत थियो । अर्को मलाई देश–विदेशमा चिनाउन सफल गीत ‘अब त मैले नि झुम्का लगाउँछु...मलाई निकै मनपर्छ ।

महिला विकास र सशक्तीकरणका लागि आफ्नो क्षेत्रमार्फत के गर्न सकिन्छ जस्तो लाग्छ ?
मूलतः तीजकै गीत बढी गाएकी छु । गीतमार्फत पनि मैले समाज परिवर्तन, विकास र उन्नतिका लागि सन्देश दिएकी छु जस्तो लाग्छ किनभने मेरा हरेक गीत प्रगतिशील र सन्देशमूलक हुने गर्छन् । मेरा गीतका शब्दले समाज परिवर्तनमा केही मात्रामा भएपनि भूमिका खेल्न सफल भएका छन् । आफू जन्मेको ठाउँमा केही गर्न सकूँ भन्ने सपना थियो । त्यहाँ पनि मन्दिर, सामुदायिक भवन, सडक पु¥याउन सफल भएँ । त्यही सामुदायिक भवनमा महिला–पुरुष दुवैका लागि प्रौढ शिक्षा सञ्चालनको अन्तिम चरणमा पुगेकी छु । शिक्षा र सचेतनाका लागि अझ काम गर्न चाहन्छु ।


तपाईं जहिलेपनि चिटिक्कका पहिरनमा ‘टिपटप भएर हिँडेको देखिन्छ, यति व्यस्त भएर पनि यो कसरी सम्भव छ ?
म जहिले पनि पार्सियन ब्लु फेसन स्टुडियोका पहिरन लगाउँछु । त्यहाँका पहिरन गुणस्तरीय, स्टायलिस्ट, सहज र सुलभ छन् ।


महिला सशक्तीकरणमा समर्पित आफ्नो कुनै गीत सम्झनुहुन्छ ?
मेरा प्रायः तीज गीत सबै महिलामा समर्पित छन् । सोचमा परिवर्तन ल्याउने खालका सन्देश बोकेका छन् । परिवर्तनका पक्षमा छन् । माया–प्रेम र सम्बन्धभन्दा पनि विकास र परिवर्तनका लागि मेरा गीतले भूमिका खेलेका छन् ।


नयाँ योजना केही छन् कि ?
यसपटकको नयाँ तीज गीतलाई अमेरिका, युरोप, क्यानडा, स्कटल्यान्ड, युके, अस्टे«लिया लिएर जाँदैछु । विगतका वर्षहरूमा भन्दा अझ नयाँ ढंगले प्रस्तुतिमार्फत सन्देश प्रवाह गर्ने योजनामा छु । त्यसबाहेक वि विल राइज फाउन्डेसनमार्फत पर्यटनका क्षेत्रमा काम गर्ने नयाँ योजना बनिरहेका छन् ।


पाठकका लागि केही सन्देश ?
म आफूलाई निकै भाग्यमानी ठान्छु । दर्शक–श्रोताको मायाले आज म यहाँ छु । स्वरले साथ दिएसम्म नेपाल र नेपाली गीत–संगीतलाई छोड्ने छैन । हरेक तीजमा परिवर्तनका नयाँ शब्दहरूका साथ नयाँ गीत लिएर आइरहनेछु । (हरितालिका)
तीजको सबैलाई शुभकामना ।

हेयर तथा मेकअप ः सविना उप्रेती
पहिरन ः पार्वती लामा ‘पारु’ पार्सियन ब्लु फेसन स्टुडियो वसुन्धरा
लोकेसन ः ताज प्यालेस एन्ड ब्यांक्वेट गल्फुटार
तस्बिर ः महेश प्रधान 

 Image