Successfully Copied

हेलम्बुको ‘ग्रेट ट्रेल’

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै ग्रेट ट्रेलको निर्माण अघि बढाइएको हो । अहिले यो ठाउँमा आन्तरिक पर्यटक घुम्न, फोटो र भिडियो खिच्न आउँछन् । यो क्षेत्रमा केही स्थानीयले होमस्टे सञ्चालन गरेका छन् ।




शब्द -  विमल खतिवडा
तस्बिरहरू -प्रकाशचन्द्र तिमिल्सेना

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ कोघोप्टेघ्याङमा विश्वकै अग्लो चीनको ग्रेटवालको झल्को दिने ‘ग्रेट ट्रेल’ निर्माण थालिएको छ । वडा नम्बर–३ को बुद्धपार्कबाट पनि यसको निर्माण सुरु छ । ६० किलोमिटर निर्माण गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म छ किलोमिटर निर्माण सकिएको छ । यो ठाउँबाट लस्करै देखिने जुगल, लाङटाङ, गणेश र गौरीशंकर हिमालले सबैलाई लोभ्याउँछन् । चैत–वैशाखमा डाँडै राताम्य भएर फुल्ने लालीगुराँसले थप मोहित बनाउँछ । ग्रेट वालको दायाँ–बायाँ स्याउ रोपिएको छ । हेलम्बुको बुद्धपार्कबाट सुरु हुने ट्रेल सेर्माथाङ–ज्योमथाङ–पाँचपोखरी थाङपाल गाउँपालिका,नुवाकोटको दुप्चेश्वर र हेलम्बुको सीमाक्षेत्र आमायाङ्ग्रीसँगै यसले रसुवाको गोसाइँकुण्ड पनि जोड्नेछ ।


आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै ग्रेट ट्रेलको निर्माण अघि बढाइएको हो । अहिले यो ठाउँमा आन्तरिक पर्यटक घुम्न, फोटो र भिडियो खिच्न आउँछन् । यो क्षेत्रमा केही स्थानीयले होमस्टे सञ्चालन गरेका छन् ।केही सञ्चालनको तयारीमा छन् । होमस्टेमा रात बिताएर बिहान सूर्योदय हेर्नका लागि ग्रेट ट्रेल पनि पुग्न सकिन्छ । कतै हिउँ भएका सेता त कतै हिउँ नभएका काला हिमाल देखिन्छन् ।
२५ सय मिटर उचाइबाट निर्माण थालिएपनि पाँच हजार मिटर अग्लो ठाउँसम्म ग्रेट ट्रेल निर्माण हुनेछ । विशेषगरी काठमाडौंको कोलाहल वातावरणमा उकुसमुकुस भएकाहरूलाई रमाउने यो आकर्षक र उपयुक्त गन्तव्य बन्नेछ । हेलम्बु–७ स्थित चनौटे बजारबाट कच्ची सडक छिचोल्दै यो ठाउँमा पुग्न सकिन्छ । गाउँपालिकाको गौरवको आयोजनाका रूपमा यसको निर्माण थालिएको हो । निर्माणको सुरुवात गाउँपालिकाले गरेको हो । ग्रेट ट्रेलको निर्माण हेलम्बुमा पर्यटन प्रवर्द्धन गर्नेगरी थालिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा बताउँछन् ।


निर्माण सक्न चार अर्ब रुपैयाँ लाग्नेछ । संघ सरकारबाट सहजै बजेट पाए दुई वर्षभित्र निर्माणको काम सक्ने अध्यक्ष शेर्पा दाबी गर्छन् । गाउँमै आकर्षक ढुंगा कुँदेर सिढीं र वाल बनाइएको छ । पहिलोपटक यो ठाउँ पुग्नेहरू वरिपरिको मनमोहक दृश्यले लोभिनेछन् । जति सिढीं उक्लियो, त्यति हिमाल नजिक देखिने भएकाले छ किलोमिटर ग्रेट ट्रेल हिँडेको पत्तै पाइँदैन ।

 Image