Successfully Copied

कहाँ गर्ने डेस्टिनेसन वेडिङ

नेपाल मनमोहक ठाउँ र विविध संस्कृतिका लागि परिचित छ । यहाँ विभिन्न ठाउँ छन्, जहाँ डेस्टिनेसन वेडिङका लागि छनोट गर्न सकिन्छ ।


डेस्टिनेसन वेडिङको प्रचलन सुरु भएको धेरै भइसक्यो तर आफ्नो सहरभन्दा टाढा वा विदेश नै गएर विवाह गर्ने चलन भने त्यति छैन । बाहिर विवाह गर्न जाँदा यातायात, होटलको कोठा, पाहुनाका लागि अतिरिक्त खाना र यातायातमा खर्च बढ्छ ।
वेडिङ इभेन्टका प्रबन्ध निर्देशक नीताका अनुसार काठमाडौंका सम्पन्न परिवारका मानिस भने इन्डोनेसियाको बाली, थाइल्यान्ड गएर विवाह गर्छन् भने काठमाडौं, पोखराका रिसोर्टहरूमा विवाह गर्ने पनि प्रशस्तै भेटिन्छन् । नेपाल मनमोहक ठाउँ र विविध संस्कृतिका लागि परिचित छ । यहाँ विभिन्न ठाउँ छन्, जहाँ डेस्टिनेसन वेडिङका लागि छनोट गर्न सकिन्छ ।


बाली, इन्डोनेसिया
बाली नेपालीहरूको सर्वाधिक आकर्षक गन्तव्य हो । बाली एक टापु हो । समुद्री तटमा विवाह गर्न चाहनेहरूका लागि यो उपयुक्त ठाउँ हो । अनन्तसम्म फैलिएको नीलो समुद्रमा विवाह गरेर नयाँ अनुभव लिन सकिन्छ । अहिले नवविवाहित जोडी बाली हनिमुन मनाउन जान्छन् ।

थाइल्यान्ड
थाइल्यान्ड कम खर्चमै पुग्न सकिन्छ । बैंकक, पटाय, फुकेट थाइल्यान्डका चर्चित गन्तव्य हुन् । सस्तो टिकट, खाना र बसाइ भएकाले धेरै नेपालीघुम्न जान्छन् । डेस्टिनेसन वेडिङका लागि धेरैको रोजाइ थाइल्यान्ड हुने गरेको छ ।


चन्द्रागिरि हिल्स रिसोर्ट
यो रिसोर्टबाट काठमाडौं उपत्यका, हिमश्रृंखला र मनमोहक दृश्य देखिन्छ । विवाहलाई अविस्मरणीय बनाउन यो रिसोर्ट रोज्न सकिन्छ । सुविधासम्पन्न यो रिसोर्टमा केबलकारबाट पुग्न सकिन्छ ।


गोदावरी भिलेज रिसोर्ट
डेस्टिनेसन वेडिङ गर्न चाहनेहरूका लागि यो उपयुक्त गन्तव्य हुन सक्छ । धेरैको रोजाइमा पर्ने यो रिसोर्ट आकर्षक र भव्य छ । शान्त वातावरणमा विवाह गर्न चाहने जोडीले गोदावरी भिलेज रिसोर्ट रोज्न सक्छन् ।

द्वारिका रिसोर्ट
पुरानो नेवारी वास्तुकला झल्कने द्वारिका रिसोर्टको आफ्नै विशेषता छ । रिसोर्ट भव्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । काठमाडौंबाट पुग्न धेरै समय नलाग्ने भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ । धुलिखेलमा रहेको यो रिसोर्टमा हिमालको सम्मुखमा रहेर विवाहको छुट्टै अनुभव लिन सकिन्छ ।


नगरकोट
नगरकोट काठमाडौंवासीका लागि विवाह गर्न उपयुक्त गन्तव्य हो । यहाँ धेरै रिसोर्ट खुलेका छन् । नगरकोट पुग्न धेरै समय लाग्दैन । आँखैअगाडि देखिने हिमचुचुराहरू हेर्दै विवाहको नयाँ अनुभव लिन सकिन्छ ।


पार्क भिलेज रिसोर्ट
वरिपरि हरियालीले घेरिएको यो रिसोर्ट पछिल्लो समय वेडिङ डेस्टिनेसनका लागि विशेष गन्तव्य हो । प्रकृतिप्रेमीहरूका लागि यो उपयुक्त गन्तव्य हुनसक्छ ।

आगन्तुक रिसोर्ट
आकर्षक वास्तुकलाले भरिपूर्ण यो रिसोर्टलाई वेडिङ डेस्टिसन बनाउन सकिन्छ । मनमोहक प्रकृति, सुन्दर दृश्य र सुविधासम्पन्न यो रिसोर्टमा विवाहका स्मरणीय पल कैद गर्न सकिन्छ ।


गोकर्ण फरेस्ट रिसोर्ट
शान्त र भव्य ठाउँमा विवाह गर्न चाहनेहरूका लागि गोकर्ण फरेस्ट रिसोर्ट उपयुक्त गन्तव्य हुनसक्छ । रिसोर्ट भव्य वास्तुकला, आकर्षक बगैंचा र विशेष सुविधाले भरिपूर्ण छ । स्मरणीय विवाहका लागि गोकर्ण फरेस्ट रोज्न सकिन्छ ।

ध्यान राखौं
विवाहलाई अविस्मरणीय बनाउन विवाहअघि केही योजनाहरू बनाउनुपर्छ । कहिलेकाहीँ पूरा जानकारी नलिई विवाह गर्दा धेरै किसिमका समस्या आउन सक्छन् । विवाहका दिन कुनै झन्झट चाहनुहुँदैन भने विवाहपूर्व तयारी गर्नुपर्छ । ठाउँ छनोटदेखि खर्चसम्मको पूर्ण जानकारी लिनुपर्छ ।


ठाउँ छनोट
डेस्टिनेसन वेडिङ गर्न चाहनुहुन्छ भने सबैभन्दा पहिले ठाउँको छनोट गर्नुपर्छ । त्यो ठाउँमा तपाईंलाई चाहिने सबै आवश्यक कुरा उपलब्ध छन् कि छैनन् त्यसको पनि जानकारी लिनुपर्छ । त्योसँगै खानादेखि बसोबासको व्यवस्थाका बारेमा पनि बुझ्नुपर्छ ।


पाहुनाका लागि होटल बुक
यदि विवाह घरबाट टाढा गर्ने सोच बनाउनुभएको छ भने बसोबासका लागि होटल बुक गर्नुपर्छ । विवाहमा आउने पाहुनाहरूलाई बस्ने व्यवस्था राम्रो हुनुपर्छ । त्यसैले आफ्नो बजेटअनुसार होटल बुक गर्नुपर्छ । पाहुनाअनुसार कोठा पुग्छन् वा पुग्दैनन् भन्ने कुरा फाइनल नभएसम्म विवाहको डेट फिक्स नगरेकै राम्रो हुन्छ । त्यसबाहेक दुलहा र दुलहीका लागि पनि कोठा बुक गर्नुपर्छ ।


पाहुनालाई निमन्त्रणा
विवाहमा बोलाउन चाहने सबैको लिस्ट पहिले नै तयार गर्नुपर्छ र निमन्त्रणा पठाइदिनुपर्छ । त्यसपछि विवाहमा कति जना आउँछन् भन्ने कुरा थाहा हुन्छ । आफन्त र साथीभाइलाई पहिलेनै निमन्त्रणा दिन सकिन्छ । त्यसपछि कोठा बुक गर्नेदेखि खर्चको हिसाब निकाल्न सकिन्छ ।


इभेन्ट म्यानेजरसँग भेट्ने
विवाह कुन ठाउँ, कति खर्चमा गर्ने भन्ने कुरा इभेन्ट म्यानेज्मेन्ट गर्ने कम्पनीसँग भेटेर कुरा गर्नुपर्छ । यसले तपाईंको इच्छा र आवश्यकतानुसारको काम गर्न सजिलो हुन्छ । सजावटदेखि खानपानको मेनुसम्मका कुरा फाइनल गर्न सकिन्छ ।


विवाहअघि नै ठाउँ हेर्ने
होटल वा लोकेसनको पूरा जानकारी थाहा पाउनका लागि त्यो ठाउँपहिले गएर हेर्नुपर्छ । विवाहअघि नै सम्पूर्ण जानकारी लिनुपर्छ । यसले विवाहको समयमा केही समस्या भोग्नुपर्दैन ।


बजेटअनुरूप योजना
डेस्टिनेसन वेडिङ केही महँगो पर्छ । त्यसकाअतिरिक्त अन्य खर्च थपिन सक्छ । यसका बारेमा पूर्वतयारी गर्नुपर्छ । बजेटअनुरूप विवाह सम्पन्न होस् भन्ने कुरालाई ध्यान दिनुपर्छ ।


वेडिङ ड्रेस र मेकअपको तयारी
विवाहको दिन कस्तो पहिरन लगाउने, के–के सामग्रीको आवश्यकता पर्छ ती सबै कुराको तयारी गर्नुपर्छ । विवाह हुने ठाउँमा पुग्नुअघि सबै आवश्यक सामग्री व्यवस्थित तरिकाले राख्नुपर्छ । त्यसका साथै पहिरनको फिटिङ जाँच गर्नुपर्छ ।

 Image