Successfully Copied

‘श्रोता, दर्शकबाट माया र साथ पाउन्जेल सांगीतिक यात्रा जारी रहन्छ’ – गायिका मेनुका पौडेल

गायिका मेनुका पौडेलले श्रोता, दर्शक र संचार माध्यमबाट माया र समर्थन पाउन्जेल आफ्नो सांगीतिक यात्रा अघि बढी रहने बताएकी छन् ।

गायिका मेनुका पौडेलले श्रोता, दर्शक र संचार माध्यमबाट माया र समर्थन पाउन्जेल आफ्नो सांगीतिक यात्रा अघि बढी रहने बताएकी छन् । ‘लता मंगेश्कर अवार्ड’ थाप्न हालै वीरगन्ज आएकी मेनुकाले यस्तो बताएकी हुन् । ‘मेरो सांगीतिक यात्रालाई निरन्तरता दिन म एक्लैको मिहिनेत मात्रले पुग्दैन,’ उनले भनिन्, ‘श्रोता,दर्शक र सन्चार माध्यमको साथ र समर्थन रही रहने हो भने मात्रै मेरो सांगीतिक यात्राले निरन्तरता पाउँछ ।’
हालै म्म्बुईबाट बलिउडको एक चलचित्रका लागि गीत रेकर्ड गरेर स्वदेश फर्किएको मेनुकाले बताइन् । उनले आफूले गीत रेकर्ड गरिसकेको र सम्भवतः जावेद अलीले पनि त्यसमा स्वर दिने बताइन् । रियालिटी सो इन्डियन आइडलमा सहभागी हुँदा नै बलिउड चलचित्र ‘सलार’ मा पार्श्वगायनको अवसर पाउनु आफ्ना लागि अत्यन्तै ठूलो उपलब्धि रहेको उनले बताइन् । ‘सानै देखिको बलिउडको चलचित्रमा गीत गाउने मेरो सपना पनि त्यहाँबाट पूरा भयो,’ उनले भनिन्, ‘त्यो पनि ठूलो बजेट र ब्यानरको बलिउड चलचित्रमा ।’

इन्डियल आइडलबाट फुर्सद मिलेपछि थुप्रै नेपाली र हिन्दी गीत रेकर्ड गरी सकेको र यसको निरन्तरता जारी रहेको पनि उनले बताइन् । इन्डियन आइडलबाट बाहिरिनुलाई उनले स्वभाविक बताइन् । ‘इन्डियन आइडलमा सहभागिता जनाउन पाउनु नै ठूलो कुरा हो,’ उनले भनिन्, ‘अचानक उक्त शोबाट बाहिरिनुले म आत्तिन, म नम्बरमा भन्दा मिहिनेत गरेर अघि बढ्नुमा विश्वास गर्छु, जहाँ अवसर मिल्छ त्यहाँ आफ्नो प्रतिभा प्रदर्शन गर्दै जाने हो ।’
इन्डियन आइडल पछि चुनौती र मिहिनेतसँगसँगै बढेको पनि उनले बताइन् । ‘थुप्रै कार्यक्रमको प्रस्ताव आइरहेको र व्यस्तता बढेको छ,’ उनले भनिन्, ‘कडा मिहिनेत पनि जारी छ ।’
इन्डियन आइडल शो सक्किएपछि सहभागी टिमसँगै सांगीतिक कार्यक्रममा सहभागी हुन आफू सांगीतिक यात्रामा जान लागेको पनि उनले बताइन् । उनले जुन काम गर्न पनि सही समय आउनु पर्ने पनि बताइन् । हाल पनि आफू मुम्बइमा सुरेश वाडेकरको सांगीतिक प्रशिक्षण केन्द्र र कोलकाताका अर्घ चक्रवर्तीसँग भारतीय क्लासिकल तथा छुट्टै दक्षिण भारतीय संगीतको प्रशिक्षण लिई रहेको उनले बताइन् ।

शब्द/तस्बिरः शंकर आचार्य

 Image