Successfully Copied

तिहारका लागि तेल र भाइमसला

तिहारलाई नेपालीहरूको दोस्रो ठूलो चाड मानिन्छ । दसैं लगत्तै तिहार सुरु हुन्छ ।

तिहारलाई नेपालीहरूको दोस्रो ठूलो चाड मानिन्छ । दसैं लगत्तै तिहार सुरु हुन्छ । तिहारको रौनक दसैं भन्दा केही फरक छ ।दसैंमा मासुको महिमा हुन्छ भने तिहारमा शाकाहारी भोजन अर्थात् सात्विक भोजन बढी खाइन्छ । तिहारका बेला सेल, मिठाईं तथा मरमसला अत्यधिक प्रयोग हुन्छ । सेलबिनाको तिहार निकै खल्लो हुन्छ । हुन पनि झिलिमिली झिल्ला तातो रोटी मिल्ला तिहारका लागि बनाइएको देउसी भाका हो जसले तिहारमा सेलको महत्वलाई प्रस्ट्याउँछ । लक्ष्मीपूजाका दिन १६ वटा सेल बनाएर लक्ष्मीलाई चढाउनुपर्ने परम्परा छ । त्यसैगरी लक्ष्मीको पूजा गर्न तथा भाइ तिहारको बेला मिठार्इं तथा मरमसलाको महत्व उस्तै छ ।

दसैं लगत्तै मिठाईं तथा मरमसलाहरूको बजार चम्कन्छ । तिहारका बेला घरघरमा मिठाईं तयार गरिन्छ । सेल, अनरसा, झर, फिनी, रोट तथा निम्की आदि घरैमा तयार गरिने मिठाईं हुन् । तेलबिना यी सामग्री तयार गर्न सकिँदैन । अहिले स्वास्थ्यको हिसाबले तोरी तथा भटमासको तेलभन्दा सूर्यमुखीको तेल बढी प्रयोग हुन्छ । स्वाद मीठो भए पनि अहिलेको जीवनशैलीका लागि तोरीको तेल उपयुक्त मानिँदैन तैपनि स्वादका पारखीहरूले भने यसको प्रयोग गर्न छाडेका छैनन् । नेपाली बजारमा तोरी, भटमास, सूर्यमुखी, ओलिभ, तिल तथा मकै आदिका तेल प्रयोग हुन्छ । त्यसमा पनि तोरी, भटमास तथा सूर्यमुखीको तेल अत्यधिक प्रयोग हुन्छ ।

बजारमा नेपाली, चिनियाँ, भारतीय तथा मलेसियन तेलको वर्चस्व छ । ब्रान्ड तथा स्वास्थ्यका हिसाबले प्रतिलिटर तेलको मूल्य पनि फरक–फरक हुन्छ । अन्य तेलको दाँजोमा ओलिभ तथा तोरीको तेल केही महँगो पर्छ । तेलको विज्ञापन धेरै गरिएको पाइन्छ तर सबै तेल विज्ञापनमा दाबी गरिएजस्तो गुणस्तरीय नहुन सक्छन् । स्वास्थ्यका हिसाबले रिफाइन्ड तेल उपयोगी हुन्छ । सकेसम्म प्राकृतिक तथा प्रोसेस नगरिएका तेल प्रयोग गर्नुपर्छ । 

तोरीको तेल 

तोरीको तेल धेरै पहिलेदेखि प्रयोगमा आएको पाइन्छ । यो निकै स्वादिलो हुन्छ तर स्वास्थ्यको हिसाबले तोरीको तेलभन्दा अन्य तेल बढी फाइदाजनक भएकाले हिजोआज यसको प्रयोग कम हुन थालेको छ । अहिले नियमित खानामा भन्दा पनि अचारमा हाल्न, शरीरमा लगाउन तथा अरु महत्वपूर्ण कार्यमा यसको प्रयोग गरिन्छ । नेपाली बजारमा अहिले तोरीको तेल प्रतिलिटर ३ सय ५० रुपैयाँ पर्छ । नेपालमा फेमेली, धारा, बिगुल तथा सनफ्लोक तोरीको तेल अधिक रुचाइएको छ । ब्रान्डेड मात्र होइन स्थानीय रूपमा कोल तथा मिलमा पेलिएका तेल पनि चल्तीमा छन् । नेपालमा चितवन तथा खोकनाको तेल धेरैको रोजाइमा परेको पाइन्छ । स्वस्थ मुटुका लागि शुद्ध तोरीको तेल निकै राम्रो मानिन्छ । तोरीको तेलमा बनाइएका परिकार विशेषगरी अचार लामो समयसम्म रहन्छन् । तोरीको तेल छालाका लागि पनि उपयोगी मानिन्छ । 

 

सूर्यमुखी तेल 

स्वास्थ्यका हिसाबले सूर्यमुखीको तेललाई उपयोगी मानिन्छ । अहिले अधिकांश मानिसले यही तेल प्रयोगमा ल्याउँछन् । बजारमा उपलब्ध सबैजसो ब्रान्डले सूर्यमुखीको तेल उत्पादन गरेका छन् । अहिले फेमिली, फरच्युन, बिगुल, शक्ति, सफोला, मेजान तथा धारा आदि ब्रान्डले बजार पिटेका छन् । नेपाली बजारमा सूर्यमुखीको तेल प्रतिलिटर २ सय ५० देखि माथिमा उपलब्ध छ । सूर्यमुखीको तेल रोग प्रतिरोधात्मक क्षमता बढाउन सहायक साबित हुन्छ । यसमा ओमेगा ३ हुने भएकाले क्यालोरी निकै कम हुन्छ ।

तिहारका लागि मिठाईं तयार गर्न सूर्यमुखीकै तेल प्रयोग गरिन्छ । यसमा बनाइएको मिठाईं तथा तरकारीहरूमा चिल्लो कम हुने भएकाले स्वास्थ्यका हिसाबले यो निकै राम्रो मानिन्छ । सूर्यमुखीको तेल सूर्यमुखी फूलको बियाँबाट तयार गरिन्छ । यसमा मुफा, पुफा, ओमेगा ३ तथा ओमेगा ९ जस्ता तत्व हुन्छन् । यो तेल हलुका पहेलो रंगको हुन्छ । यो तेलमा प्रशस्त मात्रामा भिटामिन ई हुन्छ । 

भटमासको तेल 

नेपाली बजारमा सूर्यमुखीको तेलपछि सोयाबिनको तेलको माग अत्यधिक छ । तोरीको तेलभन्दा सस्तो तथा स्वास्थ्यको हिसाबले पनि उपयोगी भएकाले सोयाबिनको तेलको माग बढ्न थालेको हो । भटमासलाई पेलेर केही तताएपछि त्यसबाट तेल निकाल्न सकिन्छ । भटमासको तेल सेतो हुन्छ । भटमासको जैविक तेल भएकाले यसमा प्रशस्त प्रोटिन हुन्छ । राम्रो सोयाबिन तेलले मुटुलाई स्वस्थ राख्ने भएकाले पनि अहिले यसको माग बढ्दै गएको हो । धेरै उत्पादन हुने भएकाले अरू तेलको दाँजोमा भटमासको तेलको मूल्य केही सस्तो पर्छ । अहिले भटमासको तेलले वनस्पति घिउलाई पनि विस्थापित गरेको अवस्था छ ।

पहिले शुद्ध घिउ प्रयोग गर्न नसक्दा वनस्पति घिउ प्रयोगमा ल्याइन्थ्यो तर हिजोआज अधिकांश मिठाईं यही तेलमा तयार गरिन्छ । सफा र कम चिल्लो हुने भएकाले पनि यसको प्रयोग बढेको हो । नेपाली बजारमा फेमिलियर, शक्ति, श्री, धारा, सुपरम्यान आदि ब्रान्डका भटमासको तेल बढी चलेका छन् । नेपाली बजारमा भटमासको तेल प्रतिलिटर १ सय ८० रुपैंयाँको हारहारीमा पर्छ । 

तिलको तेल 

तिललाई निकै शुद्ध मानिन्छ । विशेषगरी पूजाआजामा तिलको तेल प्रयोगमा ल्याइन्छ । तिलको गेडाबाट तयार गरिएको तिलको तेल बत्ती बाल्न उपयोग गरिन्छ । तिहारमा पालामा तिलको तेल प्रयोग गरेर बत्ती बालिन्छ । यसलाई खानामा पनि प्रयोगमा ल्याउन सकिन्छ । केही महँगो पर्ने भएकाले यसलाई त्यति प्रयोगमा ल्याइँदैन । तैपनि तिलको तेल केश, छाला तथा मुटुका लागि निकै उपयोगी मानिन्छ । यसमा भिटामिन, खनिज तथा अन्य आवश्यक लवणहरू हुन्छन् । यो तेल डिप्रेसन भएकाहरूका लागि पनि उपयोगी मानिन्छ । 

भाइमसला 

भाइटीका भाइमसलाबिना खल्लो हुन्छ । तिहारमा आफ्ना भाइहरूलाई दिदीले भाइमसला उपहारस्वरूप दिने गरेका छन् । विभिन्न देशबाट आयात गरिने हुँदा भाइमसलाका रूपमा प्रयोग गरिने सामग्रीहरू महँगा पनि छन् । नेपालमा यस्ता मसला धेरैजसो भारतबाट भित्रन्छ । काठमाडौंको मख्खन गल्ली भाइमसलाका लागि प्रसिद्ध बजार हो । उक्त ठाउँबाहेक हरेक किराना पसल तथा मिठाईं पसलहरूमा भाइमसला खरिद गर्न सकिन्छ । अहिले विभिन्न आकर्षक प्याकमा र्‍याप गरिएका भाइमसला खरिद गर्न सकिन्छ । काजु, किसमिस, पेस्ता, नरिवल, छोकडा, सुपारी, सुकमेल, अंजिर, काजी बदाम आदि भाइमसलामा प्रयोग हुने ड्राइ फ्रुट्स हुन् । भाइटीकाका दिन यिनको विशेष महत्व हुने भएकाले दिदीबहिनीहरू पैसाको पर्वाह नगरी भाइमसला खरिद गर्छन् ।

मख्खनका व्यवसायी सहदेव देव तिहारको आफ्नै महत्व भए पनि भाइटीकाका दिनमा भाइमसलाको विशेष महत्व हुने बताउँछन् । अरू बेलाभन्दा तिहारको समयमा ५ दोब्बर कारोवार हुने देवले जानकारी दिए । यस्ता मसला स्वास्थ्यका हिसाबले राम्रो हुने भएकाले पनि हिजोआज अन्य समयमा समेत यसको प्रयोग बढेको पाइन्छ । मसलामध्ये पेस्ता सबैभन्दा महँगो हुन्छ । नेपालमा काजु, पेस्ता तथा छोकडा कतारबाट आयात गरिन्छ । महँगो पर्ने भएकाले अहिले सर्वसाधारण ग्राहकहरूले खरिद गर्न सक्नेगरी स–साना प्याक बनाएर पनि यस्ता मसला बिक्री गर्न थालिएको छ । 

 Image