Successfully Copied

वर्ष २०७३ का चलचित्रमा महिला सक्रियता

मुम्बईमा बसोबास गर्ने नेपाली नायिका मनीषा कोइरालाले वर्ष २०७३ मा नेपाललाई एउटा राम्रो नेपाली चलचित्र दिने घोषणा गरिसकेकी छिन् । मनीषाले चलचित्र निर्माण मात्र होइन, निर्देशन नै गर्ने कुरा बताएकी छिन् । केही समयअघि मुम्बईबाट काठमाडौं आएकी मनीषाले एउटा सार्वजनिक समारोहमै उक्त उद्घोष

मुम्बईमा बसोबास गर्ने नेपाली नायिका मनीषा कोइरालाले वर्ष २०७३ मा नेपाललाई एउटा राम्रो नेपाली चलचित्र दिने घोषणा गरिसकेकी छिन् । मनीषाले चलचित्र निर्माण मात्र होइन, निर्देशन नै गर्ने कुरा बताएकी छिन् । केही समयअघि मुम्बईबाट काठमाडौं आएकी मनीषाले एउटा सार्वजनिक समारोहमै उक्त उद्घोष गरेकी हुन् । ‘म नेपाली चलचित्रसँग राम्रो अपडेट छु । अहिले नेपाली दर्शकले कस्ता चलचित्र चाहन्छन्, त्यसका बारेमा मलाई ज्ञान छ, मनीषाले भनेकी छिन्–‘दर्शकले खोजेअनुरूपको अनि अन्तर्राष्ट्रिय स्तरको नेपाली चलचित्र मेरो पहिलो प्राथमिकता हुनेछ ।’ मनीषाले उक्त चलचित्रको स्क्रिप्ट नै तय भैसकेको बताउँदै चलचित्रको कथा तथा कलाकारका बारेमा छिट्टै सार्वजनिक घोषणा गरिने जानकारी दिएकी छिन् । मनीषाले उक्त चलचित्र नेपाली तथा अंग्रेजी दुवै भाषामा तयार पार्ने बताएकी छिन् । 

नयाँ वर्ष २०७३ को दोस्रो साता अर्थात् वैशाख १० गते एउटा चलचित्र प्रदर्शन हुँदैछ, ‘हाउ फन्नी’ । शीर्षकबाटै अनुमान गर्न सकिन्छ यो एउटा मनोरञ्जक चलचित्र हो । चलचित्रको सबैभन्दा रोचक पाटो के छ भने यो चलचित्रका निर्माता–निर्देशक मात्र होइन मुख्य भूमिकामा पनि महिला छन् । निलु डोमा शेर्पा यो चलचित्रकी निर्देशक हुन् । निलु यही चलचित्रबाट निर्देशकका रूपमा चलचित्र क्षेत्रमा पदार्पण गर्दैछिन् । पूर्व मिस नेपाल माल्भिका सुब्बा यो चलचित्रकी निर्मातृ हुन् । निर्मातृका रूपमा माल्भिका पनि पहिलो पटक चलचित्रमा पदार्पण गर्दैछिन् । चलचित्रको मुख्य भूमिकामा प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी आदि छन् । दर्शकहरूले प्रतीक्षा गरिरहेको यो चलचित्रले यदि व्यावसायिक सफलता हासिल गर्न सकेको खण्डमा नेपालमा महिला निर्माता–निर्देशक पनि चलचित्र निर्माण तथा निर्देशन गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित हुनेछ । 

पछिल्ला केही वर्षयता नेपाली चलचित्र हेर्ने दर्शकको संख्या बढेको छ । खासगरी रंगमञ्चका खारिएका कलाकारहरू चलचित्र क्षेत्रमा आउन थालेपछि नेपाली चलचित्रको कथावाचन, प्रस्तुति तथा निर्माण पक्ष सबल भएको टिप्पणी गर्न थालिएको छ । अभिनय क्षमता भएका कलाकारको आगमन बढेपछि चलचित्र स्तरीय हुनु स्वाभाविक हो । यसबीच नेपाली चलचित्रले महिला कलाकार, प्राविधिक तथा निर्माताका रूपमा थुप्रै प्रतिभाशाली नाम पाएको छ । तीमध्ये निर्देशक निलु डोमा शेर्पा एक प्रतिनिधि पात्र हुन् । 

नेपालमा महिला चलचित्र निर्देशकको संख्या औंलामा गन्न सकिन्छ । सम्झना उप्रेती रौनियारले ‘मेघा’ तथा ‘फागु’ गरी दुईवटा चलचित्रको निर्देशन गरेर आफूलाई स्थापित निर्देशकका रूपमा उभ्याइसकेकी छिन् । यतिबेला निलु डोमा शेर्पा त्यही मार्गमा अघि बढेकी छिन् । निलुले ‘हाउ फन्नी’ लाई युवाभन्दा युवतीहरूले बढी मन पराउने दाबी गरेकी छिन् । ‘मेरो यो चलचित्र युवाहरूले भन्दा युवतीहरूले मन पराउने कुरामा ढुक्क छु, निलु भन्छिन्–‘चलचित्रमा मैले युवतीहरूमा हुने स–साना विशेषतालाई रोचक शैलीमा चित्रण गरेकी छु, त्यसकारण पनि यो चलचित्र युवतीहरूका लागि विशेष हुनेछ ।’ पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बा पनि आफ्नो लगानीको यो चलचित्रले दर्शकको मन जित्ने कुरामा ढुक्क छिन् । माल्भिकाका अनुसार यो चलचित्रले महिलाहरूकै कथा उठाएको छ । 

वर्ष २०७२ को अन्तिम साता चलचित्र ‘रामप्यारी’ लाई दर्शकमाझ ल्याएकी अभिनेतृ तथा निर्मातृ रेखा थापाले यो चलचित्रलाई दर्शकहरूका लागि नयाँ वर्ष २०७३ को उपहार हो बताएकी छिन् । यो चलचित्रमा रेखाले दुईवटा चरित्र निर्वाह गरेकी छिन्, एउटा राम अनि अर्को प्यारी । रेखा चलचित्रकी निर्मातृ त हुन् नै, यही चलचित्रमार्फत रेखाले आफूलाई संगीतकारका रूपमा समेत प्रस्तुत गरेकी छिन् । त्यसो त वर्ष २०७३ को भदौमा प्रदर्शन हुने चलचित्र ‘लालजोडी’ का लागि गायक प्रल्हाद तिमिल्सिनासँग पाश्र्वगायन गरेर रेखाले आफूलाई गायिकाका रूपमा समेत चिनाइसकेकी छिन् । चलचित्र क्षेत्रमा अब रेखाले गर्न बाँकी एउटा मात्र काम छ, त्यो हो चलचित्रको निर्देशन । वर्ष २०७३ मा रेखा कुनै चलचित्रको निर्देशकका रूपमा अघि बढिन् भने अचम्म नमान्दा हुन्छ । 

अभिनेतृ दीपाश्री निरौला आमदर्शकमाझ अत्यन्त लोकप्रिय नाम हो । नेपाल टेलिभिजनबाट प्रसारण भएको हास्यशृंखला ‘तीतो–सत्य’ मा अभिनय गरेर मात्र होइन, सयौं स्टेज कार्यक्रममार्फत समेत दीपाश्रीले आफ्नो क्रेज बढाइरहेकी छिन्, दर्शकहरूको मन जितिरहेकी छिन् । पछिल्ला केही वर्षयता उनी हास्यकलाकारितासँगै चलचित्र निर्मातृका रूपमा समेत सक्रिय छिन् । अभिनेता दीपकराज गिरीसँगको सहकार्यमा ‘छ एकान छ’ तथा ‘वडा नम्बर छ’ मा लगानी गरेकी दीपाश्रीलाई ‘वडा नम्बर छ’ को एउटा गीतले वर्ष २०७२ को चलचित्र क्षेत्रको ‘वर्ष महिला’ को उपाधि नै दिलायो । फिल्मीखबर साप्ताहिक पत्रिकाले दीपाश्रीलाई ‘सुर्के थैली खै...’ को लोकप्रियता तथा ‘वडा नम्बर छ’ को सफलताका लागि उक्त उपाधि प्रदान गरेको हो । 

वर्ष २०७३ देखि दीपाश्रीले आफ्नो नामसँग नयाँ विशेषण थपेकी छिन् । अब उनलाई दर्शकले निर्देशकका रूपमा समेत चिन्नेछन् । अघिल्ला दुई चलचित्रको निर्माण समूहकै तेस्रो चलचित्र ‘छक्का पञ्जा’ मार्फत दीपाश्रीले आफूलाई निर्देशक बनाएकी हुन् । हाल छायांकनमा रहेको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, किरण केसी, शिवहरि पौडेल, वसुन्धरा भुसाल, कविता शर्मा आदि कलाकारले अभिनय गरिरहेका छन् । ‘निर्देशकको काम कडा हुँदो रहेछ, निर्देशनको अनुभव सुनाउन नारीले गरेको आग्रहमा दीपाश्रीले भनिन्–‘तर मप्रति सबै कलाकारको सद्भाव रह्यो, मैले भनेको सबैले मानिरहनुभएको छ । मलाई आशा छ, मलाई दर्शकहरूले निर्देशकका रूपमा पनि मन पराउनुहुनेछ ।’ दीपाश्रीले यो चलचित्र प्रदर्शन भएर दर्शकको प्रतिक्रिया आएपछि मात्र अर्को चलचित्रको योजना बनाउने स्पष्ट पारेकी छिन् । 

अभिनेता भुवन केसीकी पूर्व श्रीमती हुन्– सुस्मिता बोम्जन । भुवनसँग पारपाचुके भएपछि लामो समय चलचित्र क्षेत्रमा टाढिएकी सुस्मिता वर्ष २०७३ मा दर्शकमाझ फर्कने तयारी गर्दैछिन् । विगतमा केही चलचित्रमा नायिकाको भूमिकामा प्रस्तुत भैसकेकी सुस्मिता यसपटक चलचित्र निर्मातृका रूपमा दर्शकमाझ आउन लागेकी छिन् । ‘म त तिम्रै हुँ’ शीर्षकको यो चलचित्र प्रदर्शनका लागि तयार छ । भुवन केसीको संगतले चलचित्र निर्माणलाई नजिकबाट बुझेकी सुस्मिताले त्यही अनुभव यो चलचित्रमा प्रयोग गरेको हुनुपर्छ । चलचित्रको निर्माण सम्पन्न भएपछि सुस्मिता यो चलचित्रप्रति अझ आशावादी देखिन्छिन् । उनी यसको व्यावसायिक सफलताप्रति शत प्रतिशत ढुक्क देखिन्छिन् । यो चलचित्रको निर्देशन नयाँ निर्देशक श्रीराम महतले गरेका हुन् । रमाइलो कुरा के छ भने यो चलचित्रकी कथाकार पनि सुस्मिता नै हुन् । यो चलचित्र निर्माणमा सुस्मितालाई छोरा अनमोल केसी तथा सुवास थापाको पनि सहयोग छ । यो चलचित्रको प्रदर्शनसँगै सुस्मिताले चलचित्र निर्माणलाई निरन्तरता दिने घोषणा गरिसकेकी छिन् । 

चलचित्र ‘हाउ फन्नी’ को एउटा गीतमार्फत अभिनेतृ प्रियंका कार्कीले चार जना पुराना नायिकाप्रति सम्मान अर्पण गरेकी छिन् । हालै सार्वजनिक गरिएको चलचित्रको ‘शिरैमा शिरबन्दी...’ गीतमा प्रियंकाले नेपाली चलचित्र लोकप्रिय पुराना गीतहरूसँगै ती गीतमा अभिनय गर्ने चारजना अभिनेतृको हाउभाउ तथा गेटअपको नक्कल गरेकी छिन् । उक्त गीतमा प्रियंकाले ‘तिम्रो मन त चक्कु छुरी...’ की रेखा थापा, ‘उडी उडी डुल्छ मन...’ की करिश्मा मानन्धर, ‘गोली सिसाको...’ की दीपाश्री निरौला तथा ‘तिर्खा लागे निरमाया...’ गीतकी झरना थापालाई पछ्याएकी छिन् । यो नौलो प्रयोगलाई दर्शकहरूले मन पराइसकेका छन् । 

श्रीमान् तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि टुहुरोझैं भएकी उनकी जीवनसंगिनी तथा अभिनेतृ श्वेता खड्का बिस्तारै सार्वजनिक समारोहहरूमा उपस्थित हुन थालेकी छिन् । करिब डेढ वर्ष अभिनय क्षेत्रबाट टाढा रहेकी श्वेताले वर्ष २०७३ देखि पुन: यो क्षेत्रमा पुनरागमन गर्न सक्ने सम्भावना व्यक्त गरेकी छिन् । श्वेताले अभिनयका साथै निर्मातृका रूपमा समेत आफूलाई अघि बढाउने योजना बनाइरहेकी छिन् । 

भदौ ९ गते प्रदर्शन हुँदैछ, ‘झुम्की’ । चलचित्रको शीर्षकले नारी पात्रलाई इंगित गरेको छ तर निर्देशक अपिल विष्टले दुई मुख्य पात्रमध्ये कसलाई झुम्की बनाएका छन् भन्ने कुरा हालसम्म गोप्य राखेका छन् । चलचित्रको पोस्टरमा नायिका रिश्मा गुरुङको चरित्रले झुम्कीको झझल्को त दिन्छ तर यसमा पूर्व मिस नेपाल मलिना जोशी पनि मुख्य भूमिकामा छिन् । झुम्कीको चरित्र जसले निर्वाह गरे पनि यो चलचित्र नारीप्रधान भएकोमा दुई मत छैन । चलचित्रमा दयाहाङ राई पनि केन्द्रीय भूमिकामा छन् । 

नायिका रजनी शर्माका लागि भदौ १७ गते महत्वपूर्ण हुनेछ किनभने उक्त दिन उनले अभिनय गरेका दुई चलचित्र ‘ब्रासलेट’ तथा ‘लालजोडी’ प्रदर्शन हुँदैछन् । दुवै चलचित्रमा रजनी मुख्य भूमिकामा छिन् । अब हेर्नु छ, रजनीलाई दर्शकले कुन चलचित्रमा बढी मन पराउने हुन् । यता ‘ब्रासलेट’ का निर्देशक निर्मल शर्मा तथा ‘लालजोडी’ का निर्देशक लक्ष्मण सुवेदीले आ–आफ्नो चलचित्रमा रजनीको भूमिका आकर्षक रहेको बताइरहेका छन् । 

चलचित्र ‘नोभेम्बर रेन’ मा अभिनय गरेर चर्चामा आएकी छुल्ठिम गुरुङ करिब डेढ वर्ष अभिनय क्षेत्रबाट टाढा बसिन् । वर्ष २०७३ मा भने उनी नायिकाका रूपमा पुन: दर्शकमाझ आउने तयारी गर्दैछिन् । यसबाहेक उनी निर्मातृका रूपमा समेत सक्रिय हुने तयारी गर्दैछिन् । 

नायिका शिल्पा पोखरेल यो वर्ष ‘किस्मत–२’ तथा ‘हामी शरणार्थी’ मार्फत दर्शकमाझ आउँदैछिन् । दुई भिन्न धारका यी चलचित्रमा आफूले उत्कृष्ट अभिनय गरेको शिल्पाले बताएकी छिन् । 

नायिका निशा अधिकारीलाई दर्शकहरूले ‘परशुराम’ मा नौलो भूमिकामा देख्न पाउनेछन् । अघिल्लो वर्ष उनले अभिनय गरेको एक मात्र चलचित्र ‘लुटेरा’ प्रदर्शन भएको थियो । यो वर्ष भने उनका तीनवटा चलचित्र दर्शकले हेर्न पाउने सम्भावना छ । 

अन्त्यमा, नेपाली चलचित्रमा नारी पात्रको सशक्त पक्षलाई मध्यनजर गर्दै अभिनेता राजेश हमाल पहिलो पटक नारीको चरित्रमा दर्शकमाझ आउँदैछन् । चलचित्र ‘शकुन्तला’ मा हमालले नारी पात्रका रूपमै शीर्ष भूमिका निर्वाह गरेका छन् । साडी, चोलो तथा निधारमा ठूलो टीका लगाएका राजेश हमाल चलचित्रको पर्दामा दुरुस्त नारी देखिने चलचित्रका निर्देशक दिनेश श्रेष्ठको दाबी छ । 

 Image