Successfully Copied

सेलिब्रेटीहरूका पुरुष आदर्श

हरेक प्राणी विपरीत लिङ्गीहरूप्रति आकर्षित हुनु स्वाभाविक हो । एक–अर्काको केयर गर्ने, मनपर्ने कुरा सेयर गर्ने पनि विपरीत लिङ्गी साथीहरू नै हुन्छन् । हरेकले विपरीत लिङ्गी सेलिब्रेटीलाई रुचाउँछन्, भलै त्यो प्रकट गरियोस् वा नगरियोस् ।

हरेक प्राणी विपरीत लिङ्गीहरूप्रति आकर्षित हुनु स्वाभाविक हो । एक–अर्काको केयर गर्ने, मनपर्ने कुरा सेयर गर्ने पनि विपरीत लिङ्गी साथीहरू नै हुन्छन् । हरेकले विपरीत लिङ्गी सेलिब्रेटीलाई रुचाउँछन्, भलै त्यो प्रकट गरियोस् वा नगरियोस् । सेलिब्रेटी स्वयंका पनि केही आदर्श व्यक्तित्व हुन्छन् । आफ्नो स्वभाव एवं इच्छाअनुसार रोजिने आदर्श व्यक्तित्व पनि फरक–फरक हुन्छन् ।

नायिका रिस्ता बस्नेत राजेश हमाल तथा कुलमान घिसिङलाई आदर्श मान्छिन् । चलचित्रकै परिवेशमा हुर्किएकी रिस्ता हमाललाई सानैदेखि रुचाउँथिन् । राजेशको व्यक्तित्व नै उनलाई प्रभावित गर्ने मुख्य पक्ष हो भने यो क्षेत्रमा शिक्षित व्यक्ति, कडा परिश्रमका साथमा आफूलाई जस्ताको त्यस्तै मेन्टेन गर्नसक्नु हमालको राम्रो पक्ष लाग्छ । नम्र, बुद्धिमान् तथा एउटा नायकमा हुनुपर्ने सबै गुण भएकै कारण हमाल आफ्नो आदर्श भएको रिस्ता बताउँछिन् । केही समयदेखि अर्का व्यक्तित्व पनि रिस्ताका आदर्श भएका छन् । उनी हुन्–कुलमान घिसिङ । नेपाललाई लोडसेडिङमुक्त बनाएर उज्यालो परिवेश दिएकाले रिस्ताले घिसिङलाई रुचाएकी हुन् । घिसिङकै कारण आफूले असम्भव केही छैन भन्ने पाठ सिकेको रिस्ता बताउँछिन् । रिस्ता घिसिङको इमान्दारिता तथा कामप्रतिको लगनबाट प्रभावित छिन् । रिस्ताकै भाषामा भन्ने हो भने कुलमान वास्तविक हिरो हुन् ।

भिजे, मोडल तथा नायिका अकेशा विष्ट अहिले न्यूयोर्कमा उच्च शिक्षा हासिल गर्दैछिन् । अध्ययन सकेर पुन: यही क्षेत्रमा आउने तयारीमा रहेकी अकेशाका आदर्श हुन्–संचारकर्मी भूषण दाहाल । केही समय कान्तिपुर टेलिभिजनमा भूषणकै सहकर्मी भै काम गरेकी अकेशा त्यहाँ काम गर्नुअघिदेखि नै भूषणबाट प्रभावित थिइन् । विष्ट दाहालको व्यक्तित्व, स्टाइल तथा बोल्ने शैलीबाट प्रभावित भएकी हुन् । उनका अनुसार टेलिभिजनको पर्दामा थुप्रै नयाँ व्यक्तित्व आए तर कसैले पनि दाहालको जस्तो प्रभाव छोड्न सकेका छैनन् ।

रक गायनमा आफ्नै स्टाइल बनाएकी गायिका अभया सुब्बाका पुरुष आदर्श आफ्नै जीवनसाथी काई बीज हुन् । अभयालाई उनैले इन्डिभिज्वल हुन सिकाएकी हुन् । हुन पनि विवाहित तथा छोराकी आमा अभयाको रक गायन शैली तथा व्यक्तित्व बिल्कुलै फरक छ । पुरुष र नारीबीचको खाडल पुर्नुपर्छ र महिलाले पनि त्यसरी नै अघि बढ्नुपर्छ भनेर हौसला दिने व्यक्ति पनि उनकै श्रीमान हुन् । अभया काईको काम गर्ने शैली, सबैप्रति आदर प्रकट गर्ने तथा हरेक व्यक्तिको आफ्नै छवि हुनुपर्छ भनेर घच्घचाउने पक्ष सारै रुचाउँछिन् । काईजस्तो व्यक्तित्व जीवनसाथीका रूपमा पाएकैले आफू नेपाली रक गायनमा सुपरिचित हुन सफल भएको अभयाको विचार छ ।

युवापुस्तामाझ निकै लोकप्रिय गायिका हुन्–मेलिना राई । हेर्दा कोरियन युवतीजस्ती देखिने मेलिनाका आधुनिक तथा सेन्टिमेन्टल गीतहरू हिट छन् । उनी आफूले गाएका गीतभन्दा बिल्कुलै उल्टो स्वभावकी छिन् । चञ्चले स्वभावकी मेलिनालाई पनि आफूजस्तै क्युट खालका पुरुष मनपर्छन् । उनलाई अहिले ए मेरो हजुर–२ मा डेब्यु गरेका नायक सलिममान बानियाँले आकर्षित गरेका छन् । मेलिनाकै भाषामा भन्दा सलिममान उनलाई एकदमै आकर्षक लाग्छन् । बानियाँको क्युट फेस र न्यू लुक आफूलाई मन परेको उनी बताउँछिन् ।

मोडल सिर्जना पोखरेललाई भने मेलिनाको भन्दा ठीक उल्टो स्वभाव तथा लुक्सका पुरुष मन पर्छन् । सिर्जनालाई दार्‍ही, जुंगा भएका परिपक्व देखिने सेक्सी टाइपका पुरुष मनपर्छन् । सिर्जना मोडल प्रशान्त ताम्राकारलाई आफ्नो आदर्श मान्छिन् । ताम्राकार हेर्दा रुड, बोल्ड, नम्र, रेस्पेक्ट गर्ने स्वभाव र आफ्नो कामप्रति निकै प्रतिबद्ध भएकाले पनि आफू उनीप्रति आकर्षित भएको पोखरेल बताउँछिन् । सिर्जनाले आफ्ना ब्वाइफ्रेन्ड पनि ताम्राकारसँग मिल्दो व्यक्तित्व भएको बताइन् ।

कलाकार तथा मेकअप आर्टिस्ट स्वस्तिका राजभण्डारीका आइकन संचारकर्मी सुरजसिंह ठकुरी हुन् । ठकुरीको पर्सनालिटी, मल्टी ट्यालेन्टेड व्यक्तित्व तथा आफूलाई समय–परिस्थितिअनुसार प्रस्तुत गर्ने खुबी स्वस्तिकालाई सारै मनपर्छ । कुनै सेलिब्रेटीमा हुनुपर्ने गुण सबै भएका कारण आफू ठकुरीको व्यक्तित्वको प्रशंसक भएको राजभण्डारीले बताइन् । उनको बोलीमा मानिसलाई प्रभाव पार्न सक्ने खुबी छ । ५ वर्षअघि कल कान्तिपुरमा सुरज सिंहले ढिलो गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न भनेको उनी अहिले पनि सम्झन्छिन् । रफली स्कुटर चलाउने स्वस्तिका सुरजको उक्त कुरा सम्झेर बिस्तारै स्कुटर चलाउँछिन् । उनी आफूले अहिलेसम्म धेरै पुरुष सेलिब्रेटी तथा व्यक्तित्वसँग भेटे पनि सुरजसिंहजस्तो बोल्ड व्यक्ति भने नभेटेको बताउँछिन् ।

मोडल सुदीपा पाठक पुरुषको क्यारेक्टरमा कन्फिडेन्ट, फ्लटिङ, हम्बल, मायालाग्दो स्वभाव र बोल्ड व्यक्तित्व मन पराउँछिन् । सुदीपा यी सबै गुण मोडल तथा नायक आयुष्मान देशराज श्रेष्ठ जोशीमा देख्छिन् । यो क्षेत्रमा नयाँ भए पनि उनमा प्रशस्त आत्मविश्वास छ । जोशी बोल्ड अनि मायालाग्दा मात्र छैनन् उनमा प्रशस्तै एटिच्युट पनि छ । आयुष्मानको कामप्रतिको रुचि तथा शारीरिक बनावट पनि उत्तिकै आकर्षक लाग्छ सुदीपालाई । आयुष्मानले यो क्षेत्रलाई नयाँ मोडमा लान सक्ने सुदीपाको अनुमान छ ।  

 Image