Successfully Copied

जाडोमा पनि सुन्दर केश

जाडोमा थोरै लापरबाही गर्दा पनि केश समस्याग्रस्त हुन्छ । केशमा सुख्खापन, डेन्ड्रफ, केश झर्ने आदि समस्या उत्पन्न हुनसक्छन् । जाडोमा केशमा नरमपनको कमी हुन्छ जसका कारण केश रुखो देखिन्छ भने चिसो हावाका कारण केश बेजान एवं रुखो हुन्छ । केही घरेलु उपाय अपनाएर

जाडोमा थोरै लापरबाही गर्दा पनि केश समस्याग्रस्त हुन्छ । केशमा सुख्खापन, डेन्ड्रफ, केश झर्ने आदि समस्या उत्पन्न हुनसक्छन् । जाडोमा केशमा नरमपनको कमी हुन्छ जसका कारण केश रुखो देखिन्छ भने चिसो हावाका कारण केश बेजान एवं रुखो हुन्छ । केही घरेलु उपाय अपनाएर केशको प्राकृतिक सुन्दरता कायम राख्न सकिन्छ ।

हट आयल मसाज

हट आयल मसाज केशका लागि अत्यन्त फाइदाजनक हुन्छ । सुख्खा केश र स्काल्पमा हट आयल मसाजले केही दिनमै प्रभाव देखाउँछ । यो मसाजले केशलाई नरमपन तथा पोषण प्रदान गर्छ । राति सुत्नुपूर्व नरिवल, जैतुन वा तोरीको तेललाई मनतातो गरी स्काल्पमा मसाज गर्नुपर्छ । यसलाई रातभरि छोडेर बिहान केश पखाल्दा केशमा सुरक्षाको लेयर तयार हुन्छ ।

चम्किलो केश

सुख्खा केश कोर्न गाह्रो हुन्छ । केश तानिँदा पीडा हुन्छ । यसबाट केश टुट्ने समस्या पनि बढी नै हुन्छ । यो समस्याबाट मुक्ति प्राप्त गर्न अण्डाको सेतो भाग प्रयोग गर्न सकिन्छ । केशमा नरमपन कायम राख्न तथा त्यसलाई पोषण प्रदान गर्न अण्डाको सेतो भागको प्याक बनाएर लगाउनुपर्छ । प्याक लगाएको करिब ३० मिनेटपछि कुनै माइल्ड वा हर्बल स्याम्पुले केश धुने । यो उपाय महिनामा कम्तीमा दुईपटक अवलम्बन गर्नुपर्छ ।

बाक्लो केशका लागि

फर्सी र महको मिश्रण केशका लागि लाभदायक हुन्छ । फर्सीमा भिटामिन ए तथा भिटामिन सी हुन्छ । यसबाट बिटा केरोटिन, जिन्क तथा पोटासियम पनि पाइन्छ । फर्सीको पेस्टमा दुई चम्चा मह मिसाएर केशका लागि राम्रो प्याक तयार गर्न सकिन्छ । यो प्याकले केश बाक्लो देखिन्छ ।

केरा तथा जैतुनको मिश्रणको जादु

केराले शरीरलाई पोषण प्रदान गर्छ भने यो केशका लागि समेत प्रभावकारी हुन्छ । केरा र जैतुनको तेलको मिश्रणले केशमा जादु देखाउँछ । यो प्याक बनाउन पाकेको केरालाई राम्रोसँग म्यास गरी त्यसमा जैतुनको तेल मिसाउने । प्याक बाक्लो हुनुपर्छ । उक्त प्याक केशमा लगाएर ३० मिनेटजति छोड्ने अनि पखाल्ने ।

एबोकाडोको कमाल

एबोकाडो केशका लागि पूर्णरूपले प्राकृतिक समाधान हो । एबोकाडोमा प्रोटिन तथा प्राकृतिक तेल हुन्छ जसले केशलाई मोइस्चराइज गरी त्यसलाई चम्किलो एवं रेशमी बनाउँछ । प्याक बनाउन एबोकाडो तथा पुदिनाको तेलको मिश्रण तयार गर्ने । प्याक लगाउनुपूर्व केशलाई माइल्ड स्याम्पुले धुने । प्याक केशमा १५ मिनेटसम्म रहन दिनुपर्छ । यो प्याकले केशलाई पोषणसमेत प्रदान गर्छ ।

तातोपानीले ननुहाउने

मौसम चिसो हुनेबित्तिकै मानिसहरू तातोपानीले नुहाउन थाल्छन् । तातोपानीका कारण केश रुखो बन्न पुग्छ । तातोपानीले केशको प्राकृतिक नरमपन कम गर्छ र त्यसलाई सुख्खा बनाउँछ । केश सुकेपछि त्यो रुखो देखिन्छ । त्यसैले चिसो मौसममा धेरै चिसो वा तातोपानीभन्दा मनतातो पानी प्रयोग गर्नु उपयुक्त हुन्छ ।

 Image