जताततै स्यानिटाइजर

प्रकृति दाहाल

जेष्ठ ५, २०७८ कोरोना महामारीपछि स्यानिटाइजरको प्रयोग बढेको छ । अफिसमा मात्रै होइन घर–घरमा यो राख्न थालिएको छ । अझ यो व्यक्तिगत रूपमै बोक्नुपर्ने अनिवार्यजस्तै भइसकेको छ । त्यसैले अब स्यानिटाइजर औषधि पसलमा मात्रै होइन किराना पसलमा समेत पाइन थालेको छ । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले महामारी नियन्त्रणका लागि यो उपयोगी हुने बताएपछि यसका प्रयोगकर्ता बढेका हुन् । बैंकर सुनीता सिटौला (नाम परिवर्तन) ले अफिस जाँदा सधै स्यानिटाइजर बोक्छिन् । महामारी सुरु भएयता उनको झोलामा यो छुटेको छैन । रोगबाट बच्न प्रयोग गर्ने बानी नै भइसकेको उनी बताउँछिन् । भन्छिन्, ‘स्यानिटाइजरको प्रयोगले रोगबाट बचाउन सहयोग गर्छ भनेर प्रयोग गरिरहेकी हुँ ।’ बानेश्वरका किशोर शाहीलाई यसको लत नै लागेको छ । स्यानिटाइजर नबोके उनलाई केही छुटेजस्तो लाग्छ । उनी पटक–पटक यसको प्रयोग गर्छन् ।

स्यानिटाइजरका प्रयोगकर्ता बढ्दै जाँदा उत्पादन गर्ने स्वदेशी उद्योगको संख्यामा पनि वृद्धि भएको छ । पछिल्लो समय उद्योगहरूको आकर्षण पनि स्यानिटाइजर बनेको छ । स्थानीय तहहरूले समेत यसको उत्पादनमा जोड दिँदै आएका छन् । घरेलु रक्सीबाट स्यानिटाइजर बनाउने तालिमसमेत तिनीहरूले संचालन गरेका छन् । केही समयअघि ललितपुर महानगरपालिकाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सँगको सहकार्यमा स्यानिटाइजर उत्पादन गर्‍यो । नास्टका वैज्ञानिक साजन स्याउलाले महामारी फैलिएपछि स्थानीय कच्चा पदार्थबाटै स्यानिटाइजर उत्पादन गरेको बताए । ‘स्यानिटाइजरको अभावपछि स्थानीय उत्पादनबाटै आपूर्ति गरिएको हो’ उनले बताए । तत्कालका लागि महानगरले स्यानिटाइजरसँगै मास्क पनि आपूर्ति गर्‍यो । पछिल्लो समय औषधि कम्पनी, साबुन र कस्मेटिक सामग्री उत्पादन गर्दै आएका कम्पनीहरूले पनि स्यानिटाइजर उत्पादन गर्न थालेका छन् । ‘लोमस फर्मास्युटिकल्स’ र ‘होम एन्ड अफिस सेफ्टी’ ले पनि कार्यालयमा उपयोगी हुने स्यानिटाइजर उत्पादन गर्न थालेका छन् । फर्मास्युटिकल्सका सञ्चालक प्रविणजङ्ग पाण्डेका अनुसार कम्पनीले कार्यालयमा प्रयोगका लागि डिस्पेन्सर स्यानिटाइजर बजारमा ल्याएको हो । उनले भने, ‘ह्यान्ड एक्स नामक स्यानिटाइजर अहिले बजारमा २५० एमएल र ५०० एमएल उपलब्ध छन् ।

‘देउराली जनता फर्मास्युटिकल्स’ ले पनि गत वर्षदेखि स्यानिटाइजर उत्पादन गर्न थालेको हो । बिक्रीका लागि नभई सामाजिक सेवाका लागि मात्र कम्पनीले उत्पादन गर्न थालेको देउराली जनताका एक कर्मचारीले बताए । ती कर्मचारीले भने, ‘हामीले अग्रपंक्तिमा खटिनेहरूका लागि सेवा प्रदान गर्ने गरेका छौं, यसकै लागि हामीले स्यानिटाइजर उपलब्ध गराइरहेका छौं ।’ कम्पनीले स्यानिटाइजर उत्पादनका लागि स्वदेशमै उपलब्ध सामानहरूको प्रयोग गरेको छ ।

कोरोना महामारीको पहिलो लहर सुरु भएसँगै ‘पामाकेयर’ ले पनि स्यानिटाइजर बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले युनाइटेड स्टेट फर्माकोपिया (युएसपी) ग्रेडअनुसार स्यानिटाइजर उत्पादन गर्दै आएको छ । जेल र स्प्रे गरी दुई फ्लेवरमा स्यानिटाइजर बजारमा उपलब्ध रहेको कम्पनीका सञ्चालक महेश चौधरीले बताए ।

बजारमा अल्कोहल मिश्रित मात्र नभई जडीबुटी मिश्रित स्यानिटाइजर पनि उपलब्ध छन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले जडीबुटीयुक्त सन्चो स्यानिटाइजर उत्पादन गरेको छ । कम्पनीका अनुसार यो स्यानिटाइजर ब्याक्टेरियल तथा एन्टी भाइरसयुक्त वनस्पतिको तेल मिसाइएकाले छाला नरम बनाउन राम्रो छ । सरकारी स्वामित्व रहेको उक्त कम्पनीले आफ्नो उत्पादन स्यानिटाइजर अल्कोहल र रसायनरहित भएको दाबी गरेको छ ।

गुणस्तरीय स्यानिटाइजर कसरी चिन्ने ?

औषधि व्यवस्था विभागका अनुसार स्यानिटाइजर छनोट गर्दा विशेषगरी अल्कोहलको मात्रा, दर्ता र रंगमा ध्यान दिनुपर्छ । करिब ८० प्रतिशत अल्कोहल भएको स्यानिटाइजर खरिद गर्न विभागको सुझाव छ । त्यस्तै स्यानिटाइजर छनोट गर्दा दर्ता भए नभएको पनि ख्याल गर्नुपर्छ । पछिल्लो समय धेरैजसो स्यानिटाइजरमा मिसावट गरिएको हुन्छ । मिसावट भए नभएको पत्ता लगाई गुणस्तरयुक्त स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।

स्यानिटाइजर मापदण्ड ?

औषधि विभागले स्यानिटाइजर उत्पादनमा मापदण्ड निर्धारण गरेको छ । विभागका अनुसार स्यानिटाइजरमा करिब ८० प्रतिशत अल्कोहल हुनुपर्छ । विश्व स्वास्थ्य संगठनले पनि स्यानिटाइजर बनाउने मापदण्ड तोकेको छ । उक्त मापदण्डअनुसार १०० मिलिलिटर (एमएल) स्यानिटाइजर बनाउन ७८ मिलिलिटर ‘इथानल’ चाहिन्छ । त्यति नै मात्राको स्यानिटाइजर बनाउन ४ दशमलव १ मिलिलिटर हाइड्रोजन पेरोक्साइड, १ दशमलव ४ मिलिलिटर ग्लिसेरोल र बाँकी डिस्टिल्ड वाटरको आवश्यकता पर्छ । तर, नेपालमा मिथानोल प्रयोग गरी स्यानिटाइजर बन्ने गरेको विभागको अनुगमनबाट पुष्टि भएको छ । मिथानोल छालाका लागि हानिकारक मानिन्छ ।

 

प्रयोग गर्दा ख्याल गरौं ।

डा.सबिना भट्टराई, छाला रोग विशेषज्ञ

स्यानिटाइजरको प्रयोग बढ्दै गएको छ । यसले कोरोना संक्रमणबाट बच्न सहयोग पुर्‍याउँछ भन्ने विश्वास धेरैको छ । विश्व स्वास्थ्य संगठनले पनि स्यानिटाइजर उपयोगी हुने बताउँदै आएको छ । तर यसको प्रयोग र प्रयोग गर्ने तरिकाबारे धेरै जना अनभिज्ञ छन् । यो हातमा मात्र नभई नङको काप, हातपछाडिको भाग सबैतिर लगाउँदा राम्रो हुन्छ । गुणस्तरयुक्त स्यानिटाइजर प्रयोग गर्नुपर्छ । गुणस्तरयुक्त स्यानिटाइजरले ब्याक्टेरिया र भाइरस नष्ट गर्छ । यसको कति मात्रा र कसरी प्रयोग गर्ने कमैलाई जानकारी छ । बढी प्रयोग गर्दा छालामा रातोपन र सुख्खा हुनुका साथै छाला पोल्ने समस्या र दुखाइ समेत हुन सक्छ । अतः स्यानिटाइजर प्रयोगसँगै मोस्चराइजर पनि प्रयोग गर्नु राम्रो हुन्छ । स्यानिटाइजरमा अल्कोहलको बढी प्रयोग भएको हुन्छ । हातमा लगाउँदा चिडचिड हुनुका साथै चिलाउने समस्या हुन सक्छ । स्यानिटाइजर विशेषगरी हातमा प्रयोग गरिन्छ । जोखिम कम गर्न यसको प्रयोग गर्दा झनै जोखिम निम्तिन सक्ने सम्भावना रहन्छ । स्यानिटाइजरको विकल्पका रूपमा साबुन पानीले सरसफाइ गर्न सकिन्छ । सफा पानी र साबुन प्रयोग गर्न सके राम्रो हुन्छ ।

 

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>