Successfully Copied

फेसनमा नयाँ एसेसरिज 

फेसन बजार परिवर्तित छ । खासगरी पहिरन शैली सधै एकनास रहँदैन । एसेसरिजको फेसन बजारमा पनि हरेक वर्ष नयाँ डिजाइन भित्रिरहेको हुन्छ । यसले व्यक्तिको सौन्दर्य निखार्ने काम गर्छ ।

फेसन बजार परिवर्तित छ । खासगरी पहिरन शैली सधै एकनास रहँदैन । एसेसरिजको फेसन बजारमा पनि हरेक वर्ष नयाँ डिजाइन भित्रिरहेको हुन्छ । यसले व्यक्तिको सौन्दर्य निखार्ने काम गर्छ । आकर्षक एवं स्टाइलिस देखिन यसको प्रयोग गर्न सकिन्छ । पहिरनसँगै संयोजन मिलाएर यसको छनोट गर्न सके अझ फेसनेबल देखिन सघाउ पुग्छ । 

केही एसेसरिज नेपालमै बन्न थालेका छन् । नेपाली महिलाहरूले उत्पादन गरेका मास्क होल्डर, ब्रासलेट, चोकर, इयररिङले राम्रो बजार पाएका छन् । कोरोना महामारीका कारण धेरै घरमा बस्नुपर्ने बाध्यता थियो । भक्तपुरमा डेरा गरी बस्दै आएकी सुष्मा आलेले घरमै बसेर गर्न सकिने काम थालिन् । उनी भन्छिन्, ‘कोरोनाका कारण सबैले मास्क लगाउनुपर्ने भयो । पहिला–पहिला चस्मा अडाउन होल्डरको प्रयोग गरिन्थ्यो ।’ अहिलेका युवाहरू फेसनमा नयाँ–नयाँ प्रयोग गर्न चाहन्छन् । त्यही अवधारणाबाट मास्क अड्याउने होल्डर बनाउन सकिन्छ कि भन्ने लागेर उनले घरमै मास्क होल्डर बनाउन थालिन् । त्यसपछि बिस्तारै उनले हातमा लगाउने ब्रासलेट, इयरिङ, हेयर ब्यान्ड पनि बनाउन थालिन् । यसले राम्रो आम्दानी भएको उनी गर्वका साथ सुनाउँछिन् । सुष्मा जस्तै जडीबुटीकी अस्मिता मगरले छुट्टीको सदुपयोग गर्दै घरमै यस्ता एसेसरिज बनाउन थालिन् । उनले बनाएका सामान सामाजिक सञ्जालबाट बिक्री गर्दैर् आएकी छन् । 

पछिल्लो समय यस्ता एसेसरिजको बिक्री धान्नै नसकिने छ । न्यूरोडमा होलसेल पसल सञ्चालन गरिरहेका देवराज कार्कीका अनुसार पछिल्लो समय ब्रासलेट, मास्क होल्डर, मास्कको माग ह्वात्तै बढेको छ । उनी भन्छन्, ‘सस्तो र राम्रो देखिने भएकाले यस्ता एसेसरिजको व्यापार राम्रो भइरहेको छ ।’ इन्द्रचोकमा एसेसरिज पसल चलाइरहेकी अनिता श्रेष्ठका अनुसार यस्ता सामग्री चाइनिज धेरै बिक्री हुन्छन् । नेपाली ग्राहकले कानमा लगाउने झुम्का, चोकर आदि इन्डियन नै मन पराउने उनको भनाइ छ । तर पछिल्लो समय घरमै बनाइएका एसेसरिज पनि धेरै बिक्री हुन थालेको उनी बताउँछिन् । 

ब्रासलेट 

ब्रासलेट युवापुस्तामाझ लोकप्रिय छ । क्याजुअलका साथै वेस्टर्न पहिरनसँग ब्रासलेट बढी सुहाउँछ । प्रेमी–प्रेमिकाले एक–अर्कालाई उपहार दिन प्रयोग गर्ने ‘कपल ब्रासलेट’ निकै चलेको छ । यो ब्रासलेटको जोडी एक–अर्काले एक–एक वटा लगाउँछन् । म्याग्नेट भएकाले यो ब्रासलेट आपसमा जोडिन्छ । यस्ता ब्रासलेट सिंगलमा पनि पाइन्छन् । विभिन्न रंग र डिजाइनमा उपलब्ध यी ब्रासलेटको मूल्य २ सयदेखि ५ सय रुपैंयाँसम्म पर्छ । 

लेयर नेकलेस

९० को दशकमा ट्रेन्डमा रहेको लेयर नेकलेस पछिल्लो समय फेसनमा छ । त्यसताका विभिन्न डिजाइन, साइज र सेपको यो नेकलेस पेन्डेटसँग लगाइन्थ्यो । हाल भने त्यही डिजाइनको नेकलेस फेसनमा आएको छ । हल्का र पातलो चेन भएकाले यो फेसनेबल युवाहरूले रुचाएका छन् । लगाउन सजिलो हुने भएकाले दैनिक प्रयोगका लागि गह्रौं भन्दा हल्का गहना नै बढी चलेका छन् । बजारमा विभिन्न डिजाइनका नेकलेस उपलब्ध छन् । आफ्नो इच्छा र पहिरनसँग मेल खाने नेकलेसको छनोट गरी आफूलाई फेसनेबल देखाउन सकिन्छ । लेयर नेकलेस यो नेकलेस ट्युब टप, भि–नेक भएको टिसर्ट वा वानपिसमा निकै सुहाउँछ । 

मास्क

मास्क लगाउनु बाध्यता थियो । सुरक्षाकवचका रूपमा प्रयोग हुने मास्कलाई अहिले फेसनेबल युवाहरूले आफ्नो स्टाइलसँग जोड्न थालेका छन् । पछिल्लो सयम बजारमा विभिन्न थरीका मास्क उपलब्ध छन् । नेपालीपन झल्काउने ढाकादेखि सिल्क, सुतीजस्ता फेब्रिकका मास्क अहिले बजारमा छ्यापछ्याप्ती भेटिन्छन् । साथै उमेरअनुसारका मास्क बजारमा उपलब्ध छन् । महिला र पुरुष दुवैका लागि छुट्टै डिजाइन गरिएको मास्क पाइन्छ । कतिपयले आफ्नो पहिरनको रंगसँग मिलाएर मास्कको प्रयोग गर्ने गरेका छन् । 

मास्क होल्डर

कोरोना बढेसँगै मास्क अनिवार्य बनेको छ । पछिल्लो पुस्ताले यही आवश्यकतालाई फेसनका रूपमा प्रयोगमा ल्याएको छ । मास्कमात्र होइन यसलाई अडाउन प्रयोग गरिने मास्क होल्डर पनि फेसनमा आएको छ । बजारमा अहिले अनेक थरी माक्स होल्डर उपलब्ध छन् । विभिन्न रंग र डिजाइनमा पाइने यस्ता मास्क होल्डरको प्रयोगले मास्क कतै छोडिने, हराउने वा अरु कतै राख्नुपर्ने झन्झट हुँदैन । यसले मास्कलाई सुरक्षित राख्छ । मास्कको दुवैपट्टिको डोरीमा होल्डर अड्काएर लगाउन सकिन्छ । आवश्यक परेको बेला मास्क खोल्नुपर्दा घाँटीमा मालाजस्तो लगाउँदा हुन्छ । यो क्रिस्टल, पोते, धागो, विभिन्न डिजाइनयुक्त विड्सहरूको सहायताबाट बनाइन्छ । यसको मूल्य १ देखि ३ सय रुपैयाँसम्म पर्छ ।

हेयर ब्यान्ड

मास्कसँगै घरमै तयार गरेको हेयर ब्यान्ड पनि चल्तीमा छ । मखमल र सिल्कको फेब्रिकमा बनाइएका यस्ता हेयर ब्यान्ड सादाका साथै प्रिन्ट डिजाइनमा समेत पाइन्छन् । यसले केस बाँध्दा स्टाइलिस देखाउँछ । केस खुल्लै राख्दा हातमा राख्न सकिन्छ । यो हेयर ब्यान्ड आफ्नो पहिरनको रंगसँग मिलाएर लगाउन सकिन्छ । 

चोकर

परम्परागत होस् वा वेस्टर्न चोकर नेकलेस जुनसुकै पहिरनमा लगाउन सकिन्छ । बजारमा दुवै पहिरनका लागि छुट्टाछुट्टै भेराइटीको चोकर पाइन्छ । गहनाको डिजाइनमा चोकर सबैको रोजाइमा पर्ने गरेको छ । यो निकै पुरानो फेसन हो । यसलाई अहिले महिलाहरूले फेरि रुचाउन थालेका छन् । विशेषगरी ब्राइडल वेयरमा चोकर बढी प्रयोग गरेको पाइन्छ । युवतीहरूमाथ अक्सिडाइज्ड चोकर बढी लोकप्रिय छ । लेहेंगा, कुर्ता, साडी तथा गाउनमा यस्ता चोकर निकै आकर्षक र स्टाइलिस देखिन्छन् । गोलो वा भी सेपको गला भएको पहिरनसँग चोकर लगाउन सकिन्छ । अझ डिप नेक छ भने चोकर अनिवार्य हुन्छ । 

इयरिङ

इयरिङ सधै फेसनमा रहिरहने एसेसरिज हो । परम्परागत झुम्का अहिले पनि फेसन बजारमा छाइरहेको छ । इयरिङले पहिरनसँग जोड्ने काम गर्छ । बजारमा यस्ता झुम्का अनेक डिजाइन र साइजमा पाइन्छन् । क्याजुअलका साथै विवाह भोजमा ड्रेससँग संयोजन मिलाएर इयरिङ लगाउन सकिन्छ । क्रिस्टल, स्टोन, ह्वाइट मेटल, स्टिलका झुम्का अहिले फेसनमा छन् । साडी, कुर्ता, लेहेंगामा ठूलो झुम्का लगाउँदा स्टाइलिस देखिन्छ भने दैनिक आउटफिटमा सानो इयरिङ, टप सुहाउँछ । कलरफुल झुम्का जुनसुकै पहिरनसँग खुल्छ । अहिले अक्सिडाइज्ड झुम्का बढी प्रचलित छ । यस्ता झुम्का एथनिक पहिरनसँगै वेस्टर्नसँग बढी सुहाउँछन् । 

औंठी

गहनामा औंठीको महत्व निकै हुन्छ । युवा–युवतीबीचको सम्बन्ध प्रगाढ बनाउन औंठीको विशेष भूमिका रहन्छ । यसको समयसँगै डिजाइनमा परिवर्तन आइरहन्छ । फेसनेबल युवाहरू अलग–अलग डिजाइनका औंठी लगाउन मन पराउँछन् । औंठीले हातको सौन्दर्य निखार्ने काम गर्छ । महँगा हीरा वा सुनजस्ता धातुका औंठीभन्दा बजारमा पाइने औंठी युवाहरूले मन पराउँछन् । यस्ता औंठी विभिन्न डिजाइनमा पाइन्छन् । पछिल्लो समय कपल रिङको प्रचलन बढेको छ । यो रिङ एक जोडी सेटमा उपलब्ध हुने भएकाले प्रेमिल जोडीले एक–अर्कालाई उपहारका रूपमा दिने गरेका छन् । 

 Image