Successfully Copied

मेरी सासू (संस्मरण)

मेरी हजुरआमा कसैलाई नबिझाउने, सबैलाई माया गर्ने र निकै प्यारी थिइन् । उनीसँग मेरो अत्यन्त प्रेमिल सम्बन्ध थियो ।


सरस्वती पाण्डे ‘सरस’

मेरी हजुरआमा कसैलाई नबिझाउने, सबैलाई माया गर्ने र निकै प्यारी थिइन् । उनीसँग मेरो अत्यन्त प्रेमिल सम्बन्ध थियो । कक्षा बाह्रमा पढ्दा मेरो विवाहको कुरा आयो । विवाहको कुरा चलेकै दिन उनले भनेकी थिइन्, ‘सासूसँग कहिल्यै मुखमुखै नलाग्नू, सासू भनेका तीखा काँडा हुन् । मुखमुखै लाग्यो भने घोचिदिन्छन् । सबै सासू मजस्ता कहाँ हुन्छन् र । तेरी आमा त भाग्यमानी रै छे ।’ ‘हजुर पनि सासू होइन र ?’ भन्दा उनले यस्तै जबाफ दिने गर्थिन् ।

गाउँघरतिरका भाउजूहरू आफ्ना सासूको व्यवहारदेखि दिक्क भएको कुरा पनि मसँग आएर गर्दा मैले विवाह नगर्ने निधो गरिसकेकी थिएँ । विवाहका कुरा धेरै आउँथे । ती कुरा कुनै न कुनै बहानामा टर्थे, कि त म नै टारिदिन्थें । तर, मायाजालमा परेपछि उम्किन के सकिन्थ्यो रअन्ततः भूकम्प गएको साल मेरो विवाह भयो । भूकम्पको धक्कासँगै हजुरआमा र माइतीघरका वरिपरिका भाउजूहरूको कुराले पटक–पटक जग्गेमै मनमा भूकम्प गइरहेको थियो । पा“च सय विवाहको कार्ड छापेर निम्तो दिएलगत्तै भूकम्प गयो । विवाह स¥यो । घरबाट अन्मिने सपना टुट्यो । म मन्दिरबाट अन्मिएँ । मलाई अरू कुनै कुराको डर थिएन । पकाउनेदेखि खेतबारीको काम सबै माइतीमै सिकिसकेकी थिएँ । मेरो सरकारी जागिर पनि थियो जसका कारण हाम्रो प्रेमले जीवन पाएको थियो । तैपनि किन हो मनको डर हटिरहेको थिएन । मेरो घरबाट बुबाआमाले जागिर नभएको केटासँग हामी तेरो विवाह गरिदिन्नौँ । राम्रो घरबाट कुरा आएको छ भन्दै बुवा कड्किएको दिन मलाई ज्वरो आएको थियो । उता सासूले सरकारी जागिरे रहिछे भैगो त भनेर विवाह गर्ने दिन तय गर्नका लागि मेरा आमाबुवाकहा“ आउनका लागि राजी भएको कुरा प्रेमीले सुनाउँदा खुसी भएकी थिएँ ।

एकदिन प्रेमी, उनका बुवा, काकासहित ११ जना मलाई माग्न आए । माग्न आएकै दिन टीकाटालो गरियो र विवाहको लगन जुराइयो वैशाख १५ गते । विवाहको पहिलो अध्याय सुखद् भएकोमा हामी दुई मक्ख थियौं । झन्डै एकवर्षदेखि लुकेर कुराकानी गरिरहेका हामी त्यस दिनबाट बिनाडर सबैको अगाडि कुरा गर्न सक्ने भयौं । हाम्रो खुसीले सगरमाथा नाघेको थियो । हामी हाम्रो मायाको दौडमा पास भएका थियांै । त्यो पनि पूर्णाङ्कसहित ।
हाइस घ्याच्च रोकियो । रत्यौली घन्किरहेको थियो । भूकम्पले थरथर कामेका शरीर जमिन थर्काएर नाच्दै थिए । कसैको अनुहारमा डर नभएझैं लाग्थ्यो । मलाई पनि अरू डर त थिएन । थियो त एउटै डर सासू कस्ती होलिन्? मस“ग कस्तो व्यवहार गर्लिन् । ‘कति डर मान्नु ? म यहाँ सधैं बस्ने होइन क्यारे । दुई–चार दिन जे परे पनि सहुँला भन्दै मन बुझाएँ। मजस्तै कालीकाली, मभन्दा धेरै मोटी सासूले मलाई भिœयाइन् । सासूको अनुहारमा खुसी छाएको देखिन । फेरि मनमा डरको तबला बज्न थाल्यो । हाम्री आमा कस्ती राम्री छिन् । तिमीले पछि थाहा पाउँछ्यौ । भाउजूलाई त आजसम्म तँ भनेरसम्बोधन गरेकी छैनन् । नडराऊ तिमीले सोचेभन्दा धेरै राम्री छिन् आमा । नपत्याए ल हेर फोटो भन्दै म्यासेन्जरमा फोटो पठाएका थिए । मायाजालमा पार्न अनेक नाटक किन गर्नु ?मैले त्यो दिन सम्झिएँ ।

भित्रिएको भोलिपल्ट खाना बनाउने पदमा मैले मौखिक रूपमा नियुक्ति पाएँ । भूकम्पले मान्छेका मन, घर सबै हल्लाएको थियो । म भित्रिएको घर ढलेको थिएन । बस्न मिल्थ्यो । तर बेला–बेलामा भूकम्प गइरहेकाले पिढीँमा खाना बनाउने र जस्ताले बारेको कटेजमा सुत्ने व्यवस्था गरिएको थियो । मेरो मनमा भएको डर बिस्तारै हराउँदै जान थालेको थियो । घरमा सबैजना राम्रोसँग बोल्थे ।  मसँग खुसी हुन्थे । मेरा पाँचवटै सासू नरम कपासजस्तै लाग्थे ।


विवाह भएको सात दिनको दिन हामी काठमाडौं आयौं । मेरो मनको डर आफै डराएर भाग्यो । पहिला तनाव लिएकोमा आफैंसँग रिस पनि उठ्यो । प्रेमीबाट बढुवा भएर बनेका श्रीमान् विवाह भएको चार महिनापछि अध्ययनका लागि चीन गए । जागिरका कारण म कहिलेकाहीँ मात्र घर जान्थें । विवाह भएको तेह्र महिनामा छोरा जन्मियो । सासूआमा घरबाट मलाई हेर्न आइन् । नाति जन्मेकोमा धेरै खुसी भइन् । मलाई लाग्यो छोरी भएको भए यति खुसी हुन्न थिइन् । आखिर त्यही समाजबाट आएको थियो जहाँ छोरा र छोरीप्रतिको धारणा अझ परिवर्तन भएको छैन । छ दिनको दिन हामी घर गयौं । मैले झन्डै बाइस दिन केही गर्न सकिन । सासूआमाले तेल लगाउने, काइँली सासूले पकाएर खुवाउने र जेठानीले लुगा धोइदिने, तीनैजनाले म बसुन्जेल मेरा लागि धेरै गरे । मलाई म घरमा छु जस्तो अनुभव भएन जुन घरका कुरा माइतीमा छँदा हजुरआमा र छिमेकी भाउजूहरूबाट सुनेकी थिए“ । सासूआमाले मेरो खुट्टामा समेत तेल लगाइदिइन् । हाम्रो समाजमा सासूलाई खुट्टा छुन दिन हुन्न भनिन्छ । तर मेरी सासूले मलाई छोरीलाई जस्तै राम्रो व्यवहार गरिन् ।

जागिरका कारण दुई महिना नपुग्दै म घरबाट काठमाडौं आउनुप¥यो । आउने दिन म कसैले नदेख्नेगरी रोएँ । बल्लबल्ल खाएको जागिर छोड्ने कुरा भएन । मन अमिलो बनाएर म काठमाडौं फर्कें । काठमाडौंमा मेरो माइती भएकाले म १५ महिना माइतीमा बसें । बीचमा पटक–पटक सासूआमाले मलाई माइतीलाई धेरै दुःख दिनहुन्न म आउँछु भनेकी हुन्। घरमा खेतीपाती धेरै भएका कारण मैले म हजुरको छोरा नआउन्जेल माइतमै बस्छु भनें । मेरी आमाले पनि एउटा नाति स्याहार्न सकिहाल्छु पर्दैन सासूलाई बोलाउन भन्नुभयो । त्यसपछि म माइतीमै बसें ।

सासूआमा तिहारमा माइत (काठमाडौं) आएकी थिइन् । छोरो १५ महिनाको भएको थियो । सासूआमा हामीलाई भेटेर घर जानका लागि माइतीबाट बिदा भएर मेरो माइतीमा आइन् । माइतीमा आमा पनि बिरामी थिइन् । आमा बिरामी हुनुहुँदो रहेछ, मलाई किन नभनेको ? म अस्तिनै आउँथें ।सासूआमा त्यो दिन मेरो माइतीमै बसिन् । बेलुका घरबाट ससुरा बुवाले फोन गरे । हजुर काठमाडौं कहिले आउने ?हजुर आउँदा मेरो लुगा पनि ल्याइदिनू । म नाति हेरेर यतै बस्छु। म सासूआमाको कुरा सुनेको सुन्यै भए । उनीप्रति मैले सम्मानले शिर झुकाए । म माइतीमा बसे पनि माइत नजिकै हामीले एउटा फ्ल्याट भाडामा लिएका थियौं ।
हामी भोलिपल्टै माइतीबाट कोठामा गयौं । माइतीमा हुँदा मैले बिहान खाना बनाएर, छोराको लुगा धोएर जागिर खान जान्थें । बेलुका धेरैजसो खाना बनाएर घरको सबै धन्दा म आफैं गर्थें । दिनभरि उभिएर काम गर्दा थकाइ लाग्थ्यो । बेलुका घरको काम । मेरो शरीर जता छोए पनि दुख्थ्यो । सासूआमा आएपछि भने मलाई धेरै सजिलो भयो । सासूआमालाई बोलाउन ढिला भएजस्तो लाग्यो । अहिले हामी सँगै छौं । सासूआमाले कुनै दिन पनि म सासू हुँ र तँ बुहारी होस् भन्ने व्यवहार गरेकी छैनन् । मलाई यस्तो लाग्छ–संसारको सबैभन्दा भाग्यमानी बुहारी म नै हुँ । सधैभरि सासूआमासँगै बस्न पाऊँ भनेर भगवान्सँग प्रार्थना गर्छु ।

(लेखक  शिक्षक तथा अधिवक्ता  हुन् ।)

 Image