Successfully Copied

महिलाका चुनौती र समाधान

सशक्त र समाजमा आफूले अरूलाई कति कुरामा बोलेर सहयोग गरेका महिला पनि आफ्नै शारीरिक अवस्था, मनोदशा र परिवर्तनबारे बोल्न हिच्किचाउँछन् । अझ कतिपय अवस्थामा बोल्न आवश्यक पनि ठान्दैनन् र कतिपय अवस्थामा नबोलेरै आफूलाई उत्प्रेरित गरेको र न्याय दिएको महसुस गर्छन् ।


डा. नम्रता पाण्डे
पछिल्लो समय सहरका धेरै महिला सशक्त भइसकेका छन् । त्यसैले उनीहरू बोल्न सक्छन् भन्ने धारणा हाम्रो छ । विशेषगरी राजनीतिमा सक्रिय महिला, संचारमाध्यम र विभिन्न अभियानमा लागेका महिला, अधिकारकर्मीलगायतका क्षेत्रमा क्रियाशील महिलाहरूले बोलेर नै समाजमा धेरै परिवर्तन गरेका छन् । धेरैको अधिकार सुनिश्चित गर्न सहयोग पुगेको छ । सार्वजनिक हुन नसकेका महिलाका पीडालाई कानुनी वा सामाजिक दायित्वका रूपमा उनीहरूको पहिचान स्थापित गर्न सक्नुपर्छ ।
महिलाहरूको शारीरिक सुगठन, शरीरको धर्म, प्रकृति, हार्मोन र मातृत्व क्षमताका कारण उनीहरूलाई हुने शारीरिक समस्या, शारीरिक परिवर्तन र शारीरिक असहजताबारे खुलेर बोल्न नसक्ने धेरै अवस्था हुन्छन् । किनभने कतिपय अवस्थामा आफूले बोलेर होइन अरूले बुझेर त्यसलाई सहयोग गर्नुपर्ने हुन्छ । महिनावारीका कुरा, महिनावारी हु“दाको समयमा हुने शारीरिक थकान, भावनात्मक हलचल, गर्भवती हु“दाको सहजता, असहजतालगायत धेरै पक्ष छन् जसलाई खुलस्त बोलेर अरूलाई बुझाउनुभन्दा आफैंले आफैंमा सहनशील भएर बस्नुपर्ने अवस्था छ । सशक्त र समाजमा आफूले अरूलाई कति कुरामा बोलेर सहयोग गरेका महिला पनि आफ्नै शारीरिक अवस्था, मनोदशा र परिवर्तनबारे बोल्न हिच्किचाउँछन् । अझ कतिपय अवस्थामा बोल्न आवश्यक पनि ठान्दैनन् र कतिपय अवस्थामा नबोलेरै आफूलाई उत्प्रेरित गरेको र न्याय दिएको महसुस गर्छन् ।


अर्को कुरा, महिलाले खुलेर हाँस्नु हुन्न, रुनु त अलच्छिन हो यस्तै–यस्तै धारणाले गाँजेको समाजमा मानसिक सोचमा परिवर्तन नआउन्जेल महिलाहरू आफ्ना भावना खुलेर व्यक्त गर्न र आफ्नो निजताको भावनामा जिउन पनि सक्दैनन् । सशक्त महिला होऊन् वा पहुँच नपुगेका र नपाएका महिला सबैको भावना एउटै हुन्छ । भावनालाई भावनाकै रूपमा खोल्न सहज छैन महिलालाई । बाहिर भाषण गरेजस्तो, अधिकार लिएजस्तो, सशक्त बनेजस्तो सजिलो पक्ष होइन भावनालाई बुझेर खुलस्त हुनु वा दबाउनु । त्यसैले मानसिक र भावनात्मक कुराहरू खुलेर बोल्न सक्ने स्थिति कतिपय अवस्थामा महिलालाई हुँदैन ।
पछिल्लो समय श्रीमान्–श्रीमती वा छोराछोरी दुवैले नोकरी वा व्यवसाय अर्थात् कुनैपनि काम गरेर आफैं आत्मनिर्भर बनेका भेटिन्छन् । यसले उनीहरूलाई आर्थिक समस्या छैन । तर, धेरै महिलालाई यो स्वतन्त्रता छैन । श्रीमान् वा बुवाआमा, परिवारजनको अपेक्षामा बाँच्नुपरेको अवस्था छ । प्रत्येक पटक पैसा मागेर घर चलाउनुपर्ने, प्रत्येक पटक दिनेले ‘अस्ति भर्खर दिएको होइन कति छिटो सकेको’ भनेर प्रश्न पनि तेर्साउने गरेको पाइन्छ । कति धेरै खर्च गरेको जस्ता बचन लगाएर मात्र पैसा दिने गरेको पाइन्छ । जीवनलाई सहज बनाउने विभिन्न माध्यममध्ये आर्थिक स्वतन्त्रता पनि प्रमुख हो । त्यसैले महिलाको आर्थिक पक्षलाई सबल र सुदृढ बनाउन जरुरी छ ।


लाग्छ घर,परिवार र समाजको इज्जत राख्ने जिम्मेवारी नै महिलाको हो । सामाजिक मर्यादा, मूल्य–मान्यता र संस्कारको विकासमा महिलाको योगदान सृष्टिकालदेखि नै उल्लेख्य छ । त्यसैले समाजले पनि महिलालाई सम्मान र कदर गर्नुपर्छ । व्यक्तिको शारीरिक, आर्थिक, मानसिक र भावनात्मक स्वास्थ्य र विकासका लागि आध्यात्मिक स्वास्थ्य पनि जरूरी छ । पुरुषसरह महिलालाई पनि आध्यात्मिक चिन्तन, साधना, ध्यान, योगमार्फत आन्तरिक स्वास्थ्य कुशल राख्न पाउने अधिकार छ । तर,महिलाले घरपरिवार सबैको व्यवस्थापन गरेर मात्र यसमा सामेल हुन पाउँछन् । कतिपय अवस्थामा त अध्यात्म महिलाको विषय होइन भनेर घरपरिवारले नै विभेद गरेको पाइन्छ । आत्माको अवलोकन गर्नु, स्वयंलाई जान्नु, स्व–चिन्तनमा डुब्नु, चैतन्यगत अवस्थाको बोध गर्नु अध्यात्म हो । मानसिक शान्ति र सुख, तनाव मुक्ति, कार्यकुशलता सबैका लागि अध्यात्म आवश्यक छ । यी सबै पक्षमा महिला खुलेर बोल्न र आफूलाई योग, साधना र ध्यानमा समय मिलाउन सकेका हुँदैनन् । त्यसैले घरपरिवार सबैले महिलालाई यो क्षेत्रमा उत्प्रेरित गर्दै सहयोग गर्नु जरूरी छ ।

 Image