Successfully Copied

हनिमुन मनाउन कहाँ जाने ?

विवाहपछि हनिमुन जाने ट्रेन्ड बढेको छ । काठमाडौं, चितवनको सौराह, पोखरा, भेंडेटार, कन्याम, मुस्ताङ आदि गन्तव्य हनिमुनका लागि प्रख्यात छन् । देशभित्र मात्र होइन विदेशमा पनि हनिमुन मनाउन जाने टेन्ड्र छ ।


 
हनिमुन हरेक नवदम्पतीका लागि एक उत्सव हो । विवाहपछि नवदम्पती घुम्न निस्कन्छन् । । यस्तो ठाउँ, जहाँ उनीहरू दुवैले एक–अर्कासँग समय बिताउन पाउँछन् । यही समय उनीहरू खुलेर आ–आफ्ना रुचि, चाहना एवं भावना साट्न सक्छन् । नयाँ जीवनको योजना बनाउन सक्छन् । यो अवस्मरणीय पल हो । त्यसैले हनिमुनलाई रोमाञ्चक र स्मरणीय बनाउन सकिन्छ । समाजशास्त्री पुष्प राई भन्छन्, ‘हनिमुन पश्चिमी संस्कृतिको नक्कल हो । नयाँ पुस्ताले यसको अनुकरण गरे पनि हनिमुनले नवदम्पतीहरूलाई रिफ्रेस गराउँछ ।’ 

पछिल्लो समय विवाहपछि हनिमुन जाने ट्रेन्ड बढेको छ । काठमाडौं, चितवनको सौराह, पोखरा, भेंडेटार, कन्याम, मुस्ताङ आदि गन्तव्य हनिमुनका लागि प्रख्यात छन् । देशभित्र मात्र होइन विदेशमा पनि हनिमुन मनाउन जाने टेन्ड्र बढेको छ ।सिम्रिक होलिडेका टुर अपरेटर कृतिका श्रेष्ठका अनुसार पछिल्लो समय हनिमुन मनाउन जाने टेन्ड्र बढ्दो छ । उनी भन्छिन्, ‘पहिलेको तुलनामा अहिले हनिमुन जानेको संख्या बढी छ । अहिले नेपालमा भन्दा विदेशमा हनिमुन मनाउन जाने जोडीहरू धेरै छन् ।’ नेपालमा घुम्ने पैसाले विदेश घुम्न जान पाउने भएकाले उनीहरूले विदेश नै रोज्ने कृतिकाको भनाइ छ ।

माल्दिभ्स
टापु नै टापुले बनेको माल्दिभ्स हनिमुनका लागि प्रख्यात गन्तव्य हो । माल्दिभ्स घुमघामका लागि सबै मौसममा उपयुक्त मानिन्छ । माल्दिभ्सको विशेषता भनेको प्राचीन समुद्रतट, पानीमाथि बनेको संरचना, सफा पानी, नीलो र खुलेको आकाश हुन् । यहाँ विवाहित जोडीले एक–अर्कास“ग गुणस्तरीय समय बिताउन सक्छन् ।

माल्दिभ्स घुम्न कति खर्च ?
माल्दिभ्स घुम्नका लागि ३ दिन ४ रातको ९८ हजारदेखि १ लाख २४ हजार रुपैँयासम्म खर्च लाग्छ । यो घुम्न, खान, बस्न र हवाई यात्राको खर्च हो ।


थाइल्यान्ड
थाइल्यान्ड नेपालीहरूको प्रमुख रोजाइमा पर्छ । कम खर्चमै विदेश घुम्न जानेहरूका लागि थाइल्यान्ड उपयुक्त हुन्छ । थाइल्यान्डको राजधानी बैंकक, पटाय, फुकेट चर्चित गन्तव्य हुन् । समुद्रीतट, जलविहार र रात्रिजीवन थाइल्यान्डका आकर्षण हुन् । यहाँ विश्वकै सबैभन्दा ठूलो खुला चिडियाघर देख्न सकिन्छ । पटायमा वाटर स्पोर्टस्देखि भूतको सुरुङमा रमाइलो गर्न सकिन्छ । यसैगरी फुकेट द्वीपमा रोचक बजार, मन्दिर र प्राचीन सभ्यताको धरोहर अवलोकन गर्न सकिन्छ ।

थाइल्यान्ड घुम्न कति खर्च ?
टुर प्याकेजअन्तर्गत थाइल्यान्ड घुम्नका लागि ७६ हजार ५ सय रुपैयाँ खर्च लाग्छ । यो ४ रात ५ दिन बस्न र घुम्नका लागि आवश्यक खर्च हो । टुर प्याकेजमा बैंकक र पटाय घुमाइन्छ । यसमा बे्रकफास्ट, आउने–जाने हवाई टिकट, थ्री स्टार होटलमा बस्ने व्यवस्था र एयरपोर्टबाट लाने–ल्याउने गरिन्छ ।


बाली
इन्डोनेसियाको बाली नेपालीहरूको सर्वाधिक आकर्षक गन्तव्य हो । विवातित जोडी हुन् वा नवदम्पती उनीहरूका लागि घुम्न बाली उपयुक्त हुन्छ । बालीविश्वकै सुन्दर समुद्री तटीय गन्तव्य हो । अनन्तसम्म फैलिएको नीलो समुद्र हेरी त्यसैको छालमा खेलेर आनन्द लिन सकिन्छ । वाङदुङ पर्वतमा देखिने ज्वालामुखीको लाभा, समुद्री किनारमा बनेका प्राचीन मठ–मन्दिर, उलुवतु टेम्पल, तनह लोट टेम्पल, तिरता टेम्पल, उबुद, किन्तामणि बालीका आकर्षण हुन् ।

बाली घुम्न कति खर्च लाग्छ ?
टुर प्याकेजअन्तर्गत बालीमा ४ रात ५ दिन घुमफिर गर्दा औसत १ लाख ३५ हजार रुपैयाँ खर्च लाग्छ । यो एक जनाको खर्च हो । जसमा हवाई टिकट, खानपान र घुमघाम गर्न पाइन्छ ।

दुबई
मानव निर्मित आश्चर्यलाग्दो र भव्य संरचना हेर्नका लागि दुबई उपयुक्त गन्तव्य हो । दुबई घुम्नका लागि यो उपयुक्त मौसम पनि हो । अरुबेला यहा“ निकै गर्मी हुन्छ । साथै दुबईं किनमेलका लागि उपयुक्त ठाउँ पनि हो । दुबईमा डेजर्ट सफारीको आनन्द लिन सकिन्छ ।

दुबई घुम्नका लागि कति खर्च ?
टुर प्याकेजअन्तर्गत दुबई घुम्नका लागि ८६ हजार ५ सय रुपैयाँ खर्च लाग्छ । यो ४ रात ५ दिन घुम्न, खान, बस्न र हवाई यात्राको खर्च हो ।

सिंगापुर र मलेसिया
नवदम्पतीका लागि सिंगापुर उपयुक्त गन्तव्य हुनसक्छ । यहा“ घुम्न जानका लागि भिसा प्रक्रिया सहज छ । सिंगापुरको आकर्षण भनेको सामुद्रिक तटमा मस्ती गर्नु हो । सिंगापुरलाई सिंहको सहर पनि भनिन्छ । त्यहाँ विभिन्न समुदायका मानिसहरूको बसोबास छ । सिंगापुरमा मुख्यतः चिनियाँ र अंग्रेजी भाषा बोलिन्छ । यो किनमेलका लागि उपयुक्त गन्तव्य पनि हो । सिंगापुरका संग्रहालय, जुरो बर्डपार्क, रेप्टाइल पार्क, जुलोजिकल गार्डेन, साइन्स सेन्टर सेन्टोसा द्वीप यहाँका मुख्य आकर्षण हुन् । मलेसियाको आकर्षण भनेको त्यहाँको राजधानी क्वालालाम्पुर नै हो ।

सिंगापुर र मलेसिया घुम्नका लागि कति खर्च ?
सिंगापुर पुगेपछि मलेसियाको पनि फन्को लगाउन सकिन्छ । सिंगापुरबाट मलेसिया पुग्न ५ घण्टा लाग्छ । टुर प्याकेजअन्तर्गत ५ रात ६ दिनको १ लाख १४ हजार ५ सय रुपैयाँ लाग्छ ।

गोवा
नेपालबाट नजिकै र भिसा नलाग्ने ठाउँ जानका लागि गोवा उपयुक्त हुन्छ । समुद्री तटमा बसेर साझँको सूर्यास्त हेर्न, छालमा खेल्न, वाटर स्पोर्टस्का लागि गोवा जान सकिन्छ । यहाँ करिब ४० वटा साना–ठूला समुद्री तट छन् ।

गोवा पुग्न कति खर्च लाग्छ ?
गोवा पुग्न टुर प्याकेजअन्तर्गत ४ रात ५ दिनका लागि गोवा घुम्न ७० हजारदेखि ७५ हजार रुपैया“सम्म लाग्छ । यो हवाई यात्रा, बस्न, घुमफिर र खानपानको खर्च हो ।


हनिमुनलाई रोमाञ्चक र स्मरणीय बनाउन
–हनिमुन मनाउन सही ठाउँको छनोट गर्नुपर्छ । त्यस ठाउँको मौसमबारे जानकारी हुनुपर्छ ।
–रोमान्टिक ठाउँ रोज्नुपर्छ । जसले गर्दा खुलेर रमाउन सकिन्छ ।
–हनिमुन जानुअघि नै कति खर्च लाग्छ भनेर हिसाब निकाल्नुपर्छ ।
–दुवैले हनिमुन डेस्टिनेसन रोज्नुपर्छ ।
–हनिमुन जानुअघि नै आउने–जाने र त्यहाँ बस्ने होटलको बुकिङ गर्नुपर्छ ।
–त्यहाँको रहनसहन र खर्चका बारेमा थाहा पाइराख्नुपर्छ ।
–हनिमुन जानुपूर्व नै योजना बनाउनुपर्छ । त्यही ठाउँमा पुगेर हतारमा योजना बनाँउदा तनावग्रस्त भइन्छ ।
–आरामदायक कपडा बोक्नुपर्छ । हनिमुन रोमान्टिक बनाउन पहिरनमा विशेष ध्यान दिनुपर्छ ।
–घर वा अफिसको तनाव हनिमुनमा निस्कदा लिनु हुदैन ।
–अनावश्यक धेरै कपडा बोक्नु हुँदैन । सामान धेरै भएर यात्राको मज्जा लिन पाइँदैन । आवश्यक सामान छुट्छन् कि भनेर ध्यान दिनुपर्छ ।

 Image